वीरगंज । धनुषाको जनकपुरस्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि त्यसको विरोधमा मुस्लिम समुदायले प्रदर्शन गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक विद्वेष फैलाउने, अफवाह फैलाउने तथा कुनै धर्म विशेषको मानमर्दन गर्ने गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिइएको छ। यस्ता गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको पनि प्रशासनले जनाएको छ।
अपिलमा उल्लेख गरिएअनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १५५ र १५६ बमोजिम धार्मिक स्थलमा क्षति पुर्याएमा तीन वर्षसम्म कैद र धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद तथा जरिवाना हुने व्यवस्था छ।
त्यसैगरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार इन्टरनेटमार्फत घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रसारण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई सामाजिक शिष्टाचार पालना गर्न, आपसी सद्भाव कायम राख्न र कानून विपरीतका गतिविधिबाट टाढा रहन विशेष अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया