वीरगन्ज । वीरगन्जमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व साँसद प्रभू हजराले हिन्दू र मुस्लिम दुवै समुदायलाई लक्षित गर्दै शान्ति, संयम र आपसी सद्भाव कायम राख्न साझा अपिल गरेका छन्।
हजराले धर्म र जातभन्दा मानवता ठूलो हुने उल्लेख गर्दै कुनै पनि किसिमको जातीय वा धार्मिक हिंसामा नफस्न दुवै समुदायलाई आग्रह गरेका हुन्।
उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम सहअस्तित्व, भाइचारा र सामाजिक सद्भावको उदाहरण रहँदै आएको सहर भएको बताए।
धर्म फरक भए पनि पहिचान मानवता नै भएको स्पष्ट गर्दै उनले घृणा, द्वेष र उक्साहटले समाजलाई विभाजनतर्फ लैजाने बताए। साथै, सामाजिक शान्ति र समृद्धिका लागि सबै समुदाय हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
उनले भनेका छन्—
“हिन्दू–मुस्लिम एउटै माटोका फूल हौं,
घृणा होइन, प्रेमले सधैं फुलेका हौं।
हातमा हात मिलाई अघि बढौं सबै,
हिंसाको होइन, शान्तिको बाटो छानौं है।”
हजराले मस्जिद र मन्दिर दुवैबाट शान्ति र प्रेमको सन्देश फैलिनुपर्ने उल्लेख गर्दै हिंसाभन्दा संवाद र समझदारीलाई प्राथमिकता दिन आग्रह गरे।
धर्मको नाममा अशान्ति फैलाउने व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग उनले जोडदार मागसमेत गरेका छन्।
उनले वीरगन्जलाई पुनः शान्ति, सद्भाव र समृद्धिको सहरका रूपमा स्थापित गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै “जय वीरगन्ज, जय जनता” भन्ने सन्देशसहित अपिल गरेका छन्।
तपाईको प्रतिक्रिया