वीरगंज बाहिर उत्पन्न भएका विवादलाई जबर्जस्ती वीरगंजमा ल्याएर शहरलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरू अझै पनि किन कानुनी कारबाहीको दायरामा आएका छैनन् ?
के वीरगंज बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बनिरहन बाध्य छ ? वीरगंज महानगर प्रमुख राजेशमानसिंहले आफनो फेसबुक पेजमा लामो स्टाटस लेख्दै यि मार्मिक सवालको उठान गरेका छन ।
सदियौँदेखि जोगिँदै आएको हिन्दू–मुस्लिम भाईचारा, सहअस्तित्व र सामाजिक सद्भावलाई योजनाबद्ध रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्दैनन्। समस्या आफैँ समाधान हुँदैन, यसलाई समाधान गर्ने इच्छाशक्ति र निष्पक्ष राज्य हस्तक्षेप चाहिन्छ।
शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक दायित्व हो। समाजका अगुवा र सरोकारवालाको भूमिका सहजीकरण र सहकार्यमा सीमित हुन्छ। सम्भावित जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि, बाहिरबाट आयातित विषयका कारण जब–जब धार्मिक तनाव चर्किन्छ, तब सम्बन्धित निकाय किन आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छ ? उनको प्रश्न छ ।
आफ्नो व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्न पूरै शहरलाई भयभीत, आक्रान्त र अशान्त बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही गर्न प्रशासन किन हिच्किचाइरहेको छ ?
वीरगंज कुनै व्यक्ति, कुनै समूह वा कुनै एजेन्डाको बन्धक होइन। यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो।
यसलाई भड्काउन खोज्ने जो–कोहीमाथि निष्पक्ष र कठोर कानुनी कारबाही हुनु नै न्याय, स्थायित्व र दीर्घकालीन समाधानको एकमात्र आधार हो।
अपराधपछि मात्रै सद्भावका र्याली र औपचारिक बैठक गर्नु समाधान होइन, त्यो त केवल राज्यको असफलतामाथि टाँसिएको औपचारिक मलम हो भन्दै उनले नोक्सानी अगावै शान्ति र सदभावको ठोस पहलकदमीकालागि सुझाए का छन ।
उनले धर्म भावना र आस्थासँग जोडिएको विषय हो। कसैले कसैको भावनासँग खेल्न हुदैन । जो कोही भावना भड्काएर समाज बिथोल्न खोज्छ, उसलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन भनेका छन ।
उनले अपिल गर्दै भनेका छन आउनुहोस्, आपसी सद्भाव र भाईचारा अझ सुदृढ बनाउँदै, डर होइन विश्वासमा आधारित समाज निर्माण गरौँ।
शान्त, समुन्नत र समावेशी “वैभव वीरगंज” तर्फ एकजुट भएर अघि बढौँ।
तपाईको प्रतिक्रिया