वीरगन्ज । पर्सा जिल्लाको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार गोविन्द देवकोटालाई यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा मंगलवार बसेको बैठकले यस बारेमा निर्णय गरेको हो ।
उक्त पुरस्कार पर्साका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको हो।
स्व. गिरी वि.सं. २०६० माघ १ गते तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहँदा माओवादी विद्रोहीद्वारा हत्या गरिएका थिए ।
पुरस्कारबाट सम्मानित हुने पत्रकार देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघ (एकोर्यावका )का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्ष हुन ।
साथै, उनी रेसखबर अनलाइनका संस्थापकसमेत हुन । स्थानीयदेखि राष्ट्रिय सरोकारका विषयलाई निरन्तर कलम चलाउदै आएका देवकोटाले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन ।
यसअघि यो पुरस्कारबाट पर्साका पत्रकारहरू शंकर अचार्य ,के.सी.लामिछाने ,ओमप्रकाश खनाल , शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, बृजलाल पासवान,खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ सम्मानित भइसकेका छन्।
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगन्ज तथा पर्सामा निरन्तर पत्रकारिता मार्फत योगदान पुर्याउँदै आएका पत्रकारहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
पुरस्कारको राशी ५१ हजार रुपैया रहेको छ । पुरस्कार स्व.गिरीको स्मृतिमा दिवसका अवसरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया