वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक नयाँ राजनीतिक संकेत दिएको छ।
परम्परागत रूपमा पुरुष उम्मेदवार हाबी रहने यो क्षेत्रमा तीन फरक राजनीतिक दलबाट महिला उम्मेदवार एकसाथ मैदानमा उत्रिनु जिल्लाकै राजनीतिकालागि उल्लेखनीय घटनाका रूपमा हेरिएको छ।
नेकपा एमालेले यस क्षेत्रबाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। वीरगञ्ज महानगरपालिका–२९ मुसैलीकी २९ वर्षीया यादवलाई पार्टीले औपचारिक टिकट दिएको हो।
स्थानीय तहमा उनीप्रति उत्साह देखिए पनि अनुभवी नेताहरूलाई पन्छाएर युवा अनुहारलाई टिकट दिनु एमालेभित्रै छलफलको विषय बनेको बताइन्छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्ज–२४ रामगढवाकी बिना जैसवाल कुर्मीलाई उम्मेदवार घोषणा गरेको छ। कुर्मी यसअघि राप्रपाबाट समानुपातिक प्रतिनिधिसभा सदस्य रहिसकेकी छन्।
उनी प्रतिनिधि सभामा सुनिएकी साँसदको रुपमा परिचित छिन ।पार्टीभित्रको अनुभव र संसदीय अभ्यासलाई आधार मानेर उनलाई पुनः प्रत्यक्ष निर्वाचनमा उतारिएको राप्रपा निकट स्रोतको भनाइ छ।
त्यसैगरी आम जनता पार्टी (आजपा) ले पर्सा–२ बाट रञ्जु साहलाई उम्मेदवार बनाएको छ। प्रभु साह नेतृत्वको आजपाले साहलाई जनआन्दोलन र स्थानीय मुद्दामा सक्रिय नेतृका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उतारेको हो।
राजनीतिक विश्लेषकहरूका अनुसार एउटै निर्वाचन क्षेत्रमा तीन दलबाट महिला उम्मेदवार उत्रिनु केवल संयोग मात्र नभई बदलिँदो मतदाता मनोविज्ञान र दलहरूको रणनीतिक दबाबको परिणाम हो। यसले पर्सा–२ को चुनावलाई लिङ्ग प्रतिनिधित्व, पुस्तान्तरण र वैकल्पिक राजनीतिक बहसको केन्द्रमा ल्याएको उनीहरूको भनाइ छ।
तीन महिला उम्मेदवारबीचको प्रतिस्पर्धाले अन्ततः मतदाताको प्राथमिकता विकास, पहिचान कि पार्टी निष्ठा—कुन विषयमा केन्द्रित हुन्छ भन्ने प्रश्नलाई पनि उठाएको छ। यही कारण पर्सा–२ को चुनावी प्रतिस्पर्धा यसपटक चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बनेको छ।
तपाईको प्रतिक्रिया