वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकालाई प्रचार जुलुशमा सहभागी गराएको आरोप लागेको छ।
पार्टीको पर्सा क्षेत्र नं ३ का उम्मेदवार रामाकान्त चौरसियाको प्रचार जुलुशमा उनीहरुलाई सहभागि गराइएको हो ।
सार्वजनिक भएको तस्वीरमा साना बालबालिका पार्टीको झण्डा बोकेर र जुलुसमा सहभागी देखिएका छन्, जसले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आशंका उत्पन्न गरेको छ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ अनुसार निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्न निषेध गरिएको छ।
आचारसंहिताको दफा ७ (क) मा बालबालिकालाई राजनीतिक गतिविधि, सभा, जुलुस, प्रचार–प्रसार तथा नाराबाजीमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।
यसैगरी, बालबालिका ऐन, २०७५ को दफा ६६ अनुसार बालबालिकालाई शारीरिक, मानसिक वा राजनीतिक प्रयोजनकालागि संगठीत गर्ने वा बन्द हड्ताल चक्काजाम धर्ना र जुलुसमा प्रयोग गर्नेकामलाई वालवालिका बिरुद्धको कसुरको रुपमा उल्लेख गरिएको छ ।
निर्वाचन जस्तो संवेदनशील राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्नु उक्त ऐन विपरीत हुने कानुनविद्हरूको भनाइ छ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न बाध्य बनाएको छ।
आचारसंहिता उल्लङ्घन भए आयोगले चेतावनी, स्पष्टीकरण, जरिवाना वा अन्य कानुनी कारबाही गर्न सक्ने व्यवस्था छ।
तपाईको प्रतिक्रिया