logo

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

 मकर श्रेष्ठ     २०८२ फागुन २९ गते १२: ५० मा प्रकाशित     47   पटक पढिएको

गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन के प्रयोग भएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमै चासो छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गरेको खोजमा यी संरचना जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको पाइएको छ । 

गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, देशको प्रमुख प्रशासकीय भवन रहेको सिंहरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको फरेन्सिक परीक्षणमा पुष्टि भएको छ ।

investigation-1719398034.pngभदौ २३ गते जेन—जीको आह्वान भएको प्रदर्शनका क्रममा संसद भवन बाहिर १७ सहित १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा २४ गते देशभर हिंसात्मक प्रदर्शन भएको थियो ।

त्यो प्रदर्शनका क्रममा जलेका भवनहरूबाट संकलन गरिएको १६ वटा नमुना भारतको गृह मन्त्रालय मातहत रहेको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा परीक्षण गर्दा पेट्रोलियम पदार्थको अवशेष पाइएको हो । “नमुनाहरूमा पेट्रोलियम उत्पादन (पेट्रोलियम हाइड्रोकार्बन) का अवशेषहरू फेला परेको छ,” प्रतिवेदनमा भनिएको छ । परीक्षणका लागि पठाइएको एउटा झोल नमुना पेट्रोल नै भएको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

forensic-report-NIMJN-1773333967.jpeg फरेन्सिक परीक्षण प्रतिवेदनको अंश ।

ल्याबोरेटरीमा १६ वटा नमुनालाई भौतिक रसायन विधि, रसायन परीक्षण, थिन लेयर क्रोमाटोग्राफी, ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोफोटोमेट्री विधिबाट परीक्षण गरेर पेट्रोलियम उत्पादनहरू र तिनका अवशेषहरू जाँच गरिएको थियो ।

यो परीक्षण प्रतिवेदन नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले फेला पारेर त्यसको अध्ययन र विश्लेषण गरेको छ । जसबाट आगजनीमा पेट्रोलियम पदार्थको प्रयोग भएको पुष्टि हुन्छ । विज्ञहरूले पनि आगलागी भएको ठाउँको नमुना परीक्षण गर्दा नतिजामा हाइड्रोकार्बन देखिएमा त्यहाँ पेट्रोलियम पदार्थ प्रयोग भएको मानिने बताएका छन् । 

अमेरिकाको युनिभर्सिटी अफ बायोमिङबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेजका वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीले भने, “पेट्रोलियम पदार्थको अवशेष भएको नमुनामा हाइड्रोकार्बन पाइन्छ, हाइड्रोकार्बन पेट्रोलियम पदार्थमा पाइन्छ ।” 

Gen-z-Singha-durbar-in-flames-NIMJN-1773333501.jpg भदौ २४ गते आगजनीपछिको सिंहदरबार । तस्बिर : बर्षा शाह/निमजिन

जेन—जी आन्दोलनका क्रममा आगजनी भएका ठाउँबाट संकलन गरिएको खरानी तथा अँगार, जलेको ठाउँको माटो, जलेका तारका टुक्रा, आधा जलेका काठका टुक्रा, आधा जलेका कपडाका ओसिला टुक्रासहितका १५ वटा नमुना अलग–अलग जिप लक प्लास्टिकमा प्याक गरी तथा १२ एमएल पहेँलो झोल पदार्थ सेन्ट्रिफ्युज ट्युबमा हालेर भारतको दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीमा पठाइएको थियो । 

सिलबन्दी कार्टुनमा राखी, बाहिरबाट कपडा बेरेर टेपको सिल लगाएर पठाइएका ती सामग्री नयाँ बानेश्वरस्थित संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार परिसरभित्रका जलेका मन्त्रालयका भवन, राष्ट्रपति भवनलगायतका ठाउँबाट संकलन गरिएको थियो ।

परीक्षणका लागि पठाइएको झोल पदार्थ पेट्रोलियम पदार्थ रहेको फरेन्सिक प्रतिवेदनमा उल्लेख छ । सिंहदरबारभित्रै रहेको एउटा मन्त्रालयबाट संकलन गरिएको त्यो नमुना कसरी संकलन गरिएको हो भन्नेबारेमा केही खुल्न सकेन । 

फरेन्सिक रिपोर्टबिनै आयोगको प्रतिवेदन

नेपाल सरकारले नै भारत सरकारसँग समन्वय गरेर यो नमुना परीक्षण गरेको भए पनि यो प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फरेन्सिक परीक्षणको प्रतिवेदनबिना नै आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । “नमुना परीक्षण गर्न पठाएको भन्ने हामीले जानकारी पाएका छौँ । तर, हामीलाई रिपोर्ट उपलब्ध गराइएन,” आयोगका प्रवक्ता विज्ञानराज शर्माले निमजिनलाई भने, “आगामी दिनमा यस्ता नमुना नेपालमै परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गर्न सुझाव दिएका छौँ ।” 

जबकि आयोगले प्रतिवेदन बुझाएको एक महिनाअघि माघ २६ गते नै भारतको गृह मन्त्रालयमार्फत यो प्रतिवेदन परराष्ट्र मन्त्रालयमा आएको थियो । परराष्ट्र मन्त्रालयले माघ २९ गते यो प्रतिवेदन गृह मन्त्रालयमा पठाएको निमजिनको खोजमा देखिन्छ । फरेन्सिक प्रयोगशालाले माघ ३ गतेदेखि परीक्षण सुरु गरेर माघ १६ गते यो प्रतिवेदन तयार पारेको थियो । 

Gen-z-supreme-court-in-flames-NIMJN-1773333500.jpg भदौ २४ गते आगजनीपछिको सर्वोच्च अदालत। तस्बिर : बर्षा शाह/निमजिन

आयोगले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संघीय संसद भवन), सिंहरदरबारभित्रका भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतमा पेट्रोल बम प्रयोग भएको अनुमान गरेर प्रतिवेदन बुझाएको श्रोतले जनाएको छ । 
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरमा सरकारी, निजी र सामुदायिक गरी कुल २ हजार ६ सय ७१ वटा भवनमा तोडफोड तथा आगजनी भएको छ । 

राष्ट्रिय योजना आयोगले तयार गरेको भदौ २३ र २४ को आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना प्रतिवेदनअनुसार तोडफोड र आगजनी हुनेमा सबैभन्दा धेरै २ हजार १ सय ३४ वटा सरकारी भवन छन् । 

आन्दोलनका क्रममा खिचिएका र सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा पनि प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालतमा मात्र होइन, काठमाडौं उपत्यकाबाहिर पनि पेट्रोल बम प्रहार गरेको देखिन्छ । त्यस्ता तस्बिर र भिडियो संकलन गरेर निमजिनले विश्लेषण गर्दा पेट्रोल प्रयोग भएको देखिन्छ । 

Gen-Z-petrol-boms-parliament-NIMJN-1773335017.png भदौ २४ गते संसद भवनमा पेट्रोल बम प्रहार गर्दै प्रदर्शनकारी । यो फोटो हामीले सामाजिक सञ्जालमा भेटिएको भिडियोबाट लिएका हौँ ।

निमजिनले प्राप्त गरेको एउटा टिकटक भिडियोमा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा आगजनीअघि हथौडा बोकेका केही व्यक्तिले भित्र पसेर तोडफोड गरेका थिए । उनीहरूले भवनका झ्यालका सिसा, टेबल तथा टेबलमा रहेका कम्युटर र प्रिन्टरमा हथौडाले हानेर तोडफोड गरेको भिडियोमा देखिन्छ ।

नमुना कसरी पठाइयो 

नेपाल प्रहरीलाई नमुना संकलन गर्न लगाएर गृह मन्त्रालयले पुस पहिलो साता नमुनाहरू भारतमा परीक्षण गर्न पठाएको थियो । भारतको गृह मन्त्रालयले नेपालबाट पठाएको नमुना परीक्षण गर्न पुस १५ गते नयाँ दिल्लीको लोधी रोडमा रहेको सरकारी स्वामित्वको प्रयोगशालामा दिएको थियो ।

नमुना परीक्षणका लागि भारतको गृह मन्त्रालयका उपसचिव, नेपाली दूतावास दिल्लीका काउन्सलर, दूतावासमा रहेका नेपाल प्रहरीका प्रतिनिधिसहितको टोलीले संयोजन गरेको थियो । 

petrol-on-hand-with-Gen-Z-protester--NIMJN-1773336688.png काठमाडौंको एउटा प्रहरी चौकी कब्जा गरेर प्रहरीकै गाडीमा निस्किएका प्रदर्शनकारीको हातमा पेट्रोल देखिन्छ । यो तस्बिर हामीले सामाजिक सञ्जालमा भेटिएको भिडियोबाट लिएका हौँ ।

नमुना परीक्षण र प्रतिवेदन तयार गर्न एम.एस.सी (अर्गानिक केमिस्ट्री), रासायनिक विश्लेषणको क्षेत्रमा ३१ वर्षको अनुभव भएका एक विज्ञ (प्रतिवेदनमा उनको नाम उल्लेख भए पनि गोपनीयताका कारण सार्वजनिक नगरिएको) सहभागी थिए ।

भारत र विदेशका अदालतहरूमा विशेषज्ञको परामर्श दिँदै आएका ती विज्ञले प्रहरीको अपराध अनुसन्धानमा सघाउन घटनास्थलहरूको जाँच गर्नसमेत सघाउने गरेका छन् ।

उनले प्रमाण संकलन र परीक्षणका लागि वैज्ञानिक सहयोग गर्दै आएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका १ हजारभन्दा बढी मुद्दाहरूमा प्रतिवेदन दिएका उनैले नेपालको जेन–जी आन्दोलनमा सरकारी र निजी भवन आगजानी गर्न प्रयोग भएका रासायनिक पदार्थको परीक्षणको नेतृत्व गरेका थिए । 

कभर तस्बिर : जेन—जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंमा एक जना प्रदर्शनकारीले हातमा बोकेको पेट्रोल बम । तस्बिर : बर्षा शाह/निमजिन

 

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.