वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
नेपाल नागरिक फाउन्डेसन पर्सा, वीरगञ्जको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा ज्येष्ठ नागरिक, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर स्थानीयलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण गरिएको थियो।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो।
शिविरमा ८५ जनाको आँखा परीक्षण गर्दा २५ जनामा मोतियाबिन्दु देखिएको संयोजक धामीले बताए। मोतियाबिन्दु भएका बिरामीलाई थप उपचारका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ।
फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकले आवश्यक परेका बिरामीको निःशुल्क शल्यक्रियाका लागि समेत अस्पतालसँग समन्वय गरिएको बताए।
शिविरमा वडाध्यक्ष अजय चौरसियासहित स्थानीय जनप्रतिनिधि तथा फाउन्डेसनका पदाधिकारीको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया