पोखरिया। पर्साको पोखरिया नगरपालिका–८ जगतपुरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा २ सय २८ जनाले स्वास्थ्य परीक्षण तथा औषधि सेवा लिएका छन्।
तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार जगतपुरस्थित अस्पतालमा शिविर सञ्चालन गरिएको हो। शिविरमा आएका स्थानीयको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। पहिचान भएका सबैको निःशुल्क शल्यक्रिया (अपरेशन)गरिने आयोजकले जनाएको छ।
स्थानीय नागरिकलाई घरआँगनमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविर लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, लायन्स क्लब अफ पोखरिया, लायन्स क्लब अफ वीरगञ्ज तथा श्री टैरी माई युवा क्लब, जगतपुर–मननपुरको सहयोगमा आयोजना गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्द प्रसाद कानु, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष पियुष दारूका, उपाध्यक्ष बी.के. दारूका तथा श्री टैरी माई युवा क्लबका अध्यक्ष अभिषेक सर्राफलगायतको उपस्थिति थियो।
आयोजकहरूले स्थानीयको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य परीक्षण तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
तपाईको प्रतिक्रिया