सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
बैठकले पार्टीका स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमंत्री प्रदिप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।
बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।
आजै घोषणा गरिएको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले शपथग्रहण गराउनु भएको छ ।
महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथ्रहण गराइएको केन्दीय सदस्य माधव ढुंगेलले बताए ।बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ । यसअघि नेकपाको महाधिवेशन यहि वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया