जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहितका मुख्य चारजना नेतालाई पार्टीबाट निकालेपछि महन्थ पक्षले पनि उपेन्द्रलाई निकालेको छ ।
उपेन्द्र पक्षले आफूहरुलाई निकालेको पत्र निर्वाचन आयोगमा दर्ता गराएपछि महन्थ पक्षले पनि उपेन्द्रलाई निकालेको पत्र आयोगमा दर्ता गराएको हो ।
दुई अध्यक्षले एकअर्कालाई पार्टीबाट निकालेको निर्णय गरेपछि जसपा तत्काल जुट्न नसक्ने गरी फुटेको मानिएको छ ।
उपेन्द्र यादव पक्ष संसदीय खेल खेलेर सरकारमा जाने पक्षमा उभिएको छ भने महन्थ ठाकुर पक्ष जनअभिमत लिन चुनावमा जाने पक्षमा उभिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बहुमतको आधारमा अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाए । लगत्तै महन्थ पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट हटाए ।
ठाकुर पक्षीय नेता सुरेन्द्र झाले साधारण सदस्य समेत नरहने गरी उपेन्द्र यादवलाई पार्टीबाट कारबाही गरेको जानकारी दिनु भयो । दुवै पक्षले निर्वाचन आयोगमा पत्र पठाएर एक अर्कालाई हटाउन दावी पनि पेश गरे ।
केही महिना पहिले यी दुई पार्टीको रातारात एकीकरण भएको थियो । एकीकरण भए पनि उपेन्द्र यादवले यादव समुदायको बेग्लै समूह चलाउँदै आउनुभएको थियो । अहिले उपेन्द्रको साथमा पार्टीभित्रका यादवहरुको ठूलो हिस्सा रहेको छ ।
तपाईको प्रतिक्रिया