बिभाजनको संघारमा पुगेको एमाले एकता तर्फ फर्किएको छ । नेकपा एमाले विवाद समाधान कार्यदलमा पार्टी एकताका लागि सहमति जुटेपछि एमालेले बिभाजनको मोड बाट एकताको मोडमा फन्को मारेको हो ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहनुभएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले विवादित विषयमा सहमति जुटाइएको जानकारी दिनुभयो ।
पार्टी एकता सुदृढ गर्नका लागि सहमतिमा पुगिएको बताउँदै उहाँले भन्नुभयो “पार्टी एकता सुदृढ गर्ने क्रममा सहमतिमा पुगेका छौं ।”
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भोलि फेरि बैठक बस्ने बताउँदै उहाँले भन्नुभयो ( सहमतिको दस्तावेजमाथि भाषिक परिमार्जन लगायत विषयमा काम गर्नुपर्ने भएकाले आजको बैठक करिब ७ घण्टा बसेर स्थगित गरिएको छ, सहमतिलाई अन्तिम रुप दिन भोलि अपरान्ह फेरि बस्छौं, भोलि फाइनल गर्छौं ।
अहिलेसम्म भएका प्रश्नहरुलाई सहमतिको विन्दुमा ल्याइपुर्याइएको बताउँदै उहाँले भन्नुभयो “अब नेकपा एमालेका नेता कार्यकर्ताहरु शुभचिन्तकले पार्टीको भविष्य के होला ? भन्ने चिन्तालाई दूर गर्नेगरी हामी भोलि सहमतिसाथ टुंग्याउँछौं, आजको छलफल सकारात्मक, सौहार्द र रचनात्मक भयो ।
अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग आवश्यक परामर्श लिएपनि सहमतिबारे कार्यदलले नै टुंग्याउने उहाँले प्रष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया