जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रदेश सम्मेलन धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजमा सम्पन्न भएको छ।
सम्मेलनले साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको दिगोपन सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न दशबुँदे महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै मंगलवार सम्मेलन सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराको अध्यक्षतामा सम्पन्न सम्मेलनले स्थानीय सञ्चारमाध्यमको संरक्षण र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै, स्थानीय तहका विज्ञापनहरू अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव पारित गरेको छ।
साथै, लोककल्याणकारी विज्ञापनको शुल्क वृद्धि, सञ्चारमाध्यमलाई आवश्यक उपकरण उपलब्ध गराउन सहुलियत व्यवस्था, तथा पत्रकारिताको पेशागत शुद्धता कायम गर्न प्रभावकारी अनुगमन प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका विषयहरू सम्मेलनका मुख्य प्रस्तावका रूपमा पारित भएका छन्।
महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिका अनुसार सम्मेलनले पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी र टिकाउ बनाउने लक्ष्यसहित उक्त प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
उक्त प्रस्तावहरू महासंघका उपाध्यक्ष ज्योती झाको संयोजकत्वमा गठित प्रस्ताव मस्यौदा समितिले तयार पारेको हो, जसमा पुष्प खतिवडा र गौतम श्रेष्ठ सदस्य रहेका थिए ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, लेखा समिति संयोजक के.सी. लामिछाने, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खरगा लगायतका वक्ताहरूले सहभागिता जनाउँदै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघ मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइनथियो भने कार्यक्रमको सञ्चालन महासचिव शैलेन्द्र क्रान्तिले गरेका थिए।
सम्मेलनले मधेश प्रदेशमा पत्रकारिताको संस्थागत विकास, स्थानीय सञ्चारमाध्यमको संरक्षण तथा पत्रकारहरूको पेशागत हकहित सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण मार्गचित्र तय गरेको सहभागीहरूको भनाइ रहेको छ।
तपाईको प्रतिक्रिया