वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर–१ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारलाई विजयी बनाउन पार्टी संगठन, कार्यकर्ता र शुभेच्छुकहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल भएको थियो।
छलफलका क्रममा विभिन्न तह र समुदायबाट आएका सहभागीहरूले आफ्ना दृष्टिकोण, सुझाव र अनुभवहरू प्रस्तुत गरेका थिए।
अन्तरक्रियामा उठेका विषयलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले प्राप्त सुझावहरूलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गर्ने बताए।
उनले आगामी फागुन २१ गतेको निर्वाचनलाई भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्धको जनआन्दोलनको निरन्तरता भन्दै मतपत्रमार्फत परिवर्तनको पक्षमा उभिन आग्रह गरे।
सभापति पन्तले कार्यक्रममा देखिएको व्यापक सहभागितालाई पार्टी र आफ्नो उम्मेदवारीका लागि ठूलो उत्साह र बलको रूपमा उल्लेख गर्दै पर्साका चारै क्षेत्रमा रास्वपाको जीत सुनिश्चित हुने दाबी गरे।
कार्यक्रममा सयौँ रास्वपा सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियालगायतका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए। कार्यक्रम महानगर सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया