वीरगंज । वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले संयुक्त रुपमा छापामारी गरेको हो । टोलीले स्रोत नखुलेको सुन बरामद गरेको छ।
सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको र बरामद गरिएको सुनको मूल्य करोडौँ रुपैयाँमा पुग्ने अनुमान गरिएको छ।
माईस्थानस्थित सुन व्यवसायी अभिषेक सर्राफको निवासमा गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। टोलीले घरका विभिन्न कोठा, तिजोरी र सुरक्षित स्थानहरूमा लुकाइएका सुन–चाँदीका गहना, बन्धकी राखिएका गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू बरामद गरेको बताइएको छ।
छापामारीका क्रममा बरामद सुनको स्रोतबारे स्पष्ट विवरण पेस गर्न सर्राफ पक्ष असफल भएको र कुनै आधिकारिक कागजात देखाउन नसकिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइन्छ। बरामद गरिएका सम्पूर्ण वस्तुहरू राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा लिइएका छन र त्यसमा थप अनुसन्धान सुरु भएको छ।
सर्राफ सुनचाँदी ब्यवसायी संघ पर्साका अध्यक्ष भूलन सर्राफ र बिवादीत सुन हुण्डी तथा लागु औषधका ब्यपारी कन्हैया सर्राफका आफ्नै भान्जा हुन । भन्जा मार्फत उनीहरुले सुनको तस्करीको कारोवारको संशय पैदा भएको भन्दै अनुसन्धानको सूई तेता पनि सोझ्याउनु पर्ने माँग उठेको छ ।
प्रारम्भिक अनुमानअनुसार बरामद सुन र गहनाको मूल्य करोडौँ रुपैयाँभन्दा बढी हुनसक्ने छ।
छापा टोलीमा सशस्त्र प्रहरी बल नेपाल, वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकारीहरू संलग्न थिए। यता ब्यवसायीले भने छापामारीको बिरोध गरेका छन ।
नेपाल सुन चाँदी ब्यवसायी महासंघका पर्सा तथा मधेश प्रदेशका पूर्व महासचिव परेवश सर्राफले छापामारीका कारण ब्यवसायीहरुमा त्रास पैदा भएको बताएका छन । उनले ब्यवसायीक वतावरण बनाउन माँग गर्दै छापामारीको निन्दा समेत गरेका छन ।
घटनापछि वीरगंजका सुन व्यवसायीहरूबीच त्रास र हलचल फैलिएको छ। स्थानीय स्रोतहरूले यस घटनाले सहरमा सञ्चालित सुन कारोबारको पारदर्शिता र नियमनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन।
राजस्व अनुसन्धान कार्यालयका अधिकारीहरूले प्रारम्भिक प्रमाण संकलन भइसकेको र बरामद सामग्रीको मूल्यांकनपछि आर्थिक अपराध अनुसन्धान ऐन अन्तर्गत कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन।
तपाईको प्रतिक्रिया