इटहरी । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल्सको बिजुली काटेपछि उद्योगले उत्पादन बन्द गरी करिब ३५ सय मजदुरलाई बिदामा पठाएको छ ।
प्राधिकरणका अनुसार, उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिई ७५ करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी राखेको छ । पटक–पटक सचेत गराउँदा पनि रकम नतिरेपछि शुक्रबारदेखि लाइन काटिएको हो ।
रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो धागो उत्पादक उधोग हो, जसले करिब तीन हजारभन्दा बढी कपडा उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । बिजुली काटिएपछि उद्योगको सम्पूर्ण उत्पादन बन्द भएको छ ।
उद्योगका अधिकारीहरूका अनुसार, उनीहरू बक्यौता तिर्न तयार भए पनि प्राधिकरणले माग गरेको रकमको हिसाब अस्पष्ट भएको कारण विवाद उत्पन्न भएको हो । उनीहरूको भनाइमा, लोडसेडिङ सकिएपछि पुरानो दरमा शुल्क उठाउनु अनुचित छ ।
प्राधिकरणका प्रवक्ताले भने, “विशेष सेवा प्रयोग गरेबापतको शुल्क सबैले तिर्नुपर्छ, नियम सबैका लागि समान हो,” भन्दै लाइन पुनःजडान गर्न बक्यौता बुझाउन आग्रह गरेका छन् ।
बिजुली आपूर्ति रोकिँदा धागो नपाउने साना कपडा उद्योगहरू समेत प्रभावित भएका छन् । उद्योगीहरूले छिटो समाधान नआए ठूलो आर्थिक क्षति हुने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया