काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ सुधारिएको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार नयाँ नोट पुरानै आकार र रङमा भए पनि यसको सुरक्षा विशेषता र डिजाइनमा सूक्ष्म परिमार्जन गरिएको छ।
नोटको बायाँपट्टि सगरमाथाको चित्र तथा दायाँपट्टि लालीगुराँसको पानीछाप राखिएको छ। बीच भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ।
दृष्टिविहीनले सहजै पहिचान गर्न सकून् भनेर अशोक स्तम्भ नजिकै स्पर्श गरेर महसुस गर्न सकिने विशेष चिन्ह (ट्याक्टाइल मार्क) थपिएको बैंकले जनाएको छ।
सुरक्षा व्यवस्थाका लागि नोटमा २ मिमि चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको सूक्ष्म चित्र पनि समावेश गरिएको छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकृतको दस्तखत रहेको छ भने तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ को सिरिज उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ सुविधा र सुरक्षासहितको यो नोट आजदेखि बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणको हातमा पुग्न सुरु हुने छ।
तपाईको प्रतिक्रिया