वीरगंज। वीरगंज महानगरपालिकाले वडा नं. २, रेल्वे रोडस्थित छपकैयामा निर्माण गरेको छपकैया तरकारी तथा फलफूल थोक बजार आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
यससँगै वीरगंजमा लामो समयदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव अन्त्य भएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार छपकैया समुदायकै नाम र पहिचानमा निर्माण गरिएको बताउँदै यसको व्यवस्थापनमा स्थानीयवासीको भूमिका निर्णायक हुने उल्लेख गरे।
यो बजार छपकैया वासीकै सम्पत्ति हो। सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीय समुदाय अग्रसर हुनुपर्ने उनले बताए ।
उनका अनुसार बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भए पनि वीपी उद्यानमा रहेका व्यवसायीका कारण ढिलाइ भएको स्मरण गरे।
उद्यानलाई हरित पार्कका रूपमा विकसित गर्दै अव्यवस्थित बजार हटाई छपकैया बजारमा स्थानान्तरण गर्ने तयारी महानगरले अघि बढाइरहेको उनले बताए।
सिंहले ‘वैभव वीरगंज’ अवधारणा प्रस्तुत गर्दै व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधा सुधार र कानुनको कडाइलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट गरे।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने बताए।
अब किसानले सहज ठाउँमा उत्पादन ल्याउन पाउनेछ, उपभोक्ताले व्यवस्थित खरिद गर्न सक्नेछन्, तथा सवारी सञ्चालन पनि सरल हुने दाहालले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा बनेको १४ युनिटमा २८ सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहितका सुविधा उपलब्ध छन्।
आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गरी संरचना विस्तार गर्ने योजनासमेत रहेको कर्णले जानकारी दिए।
उनका अनुसार खुद्रा र थोक कारोबारलाई फरक फरक संरचनामा राखी सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित काम गर्न सहज हुने छ। “यसले रोजगारीका अवसर पनि बढाउँछ,” उनले भने।
उद्घाटन कार्यक्रममा सहभागी व्यवसायीहरूले स्थायी संरचना बनेपछि लगानी व्यवस्थापन, भण्डारण सुविधा, गुणस्तरीय बिक्री प्रणाली र किसानसँग सीधा कारोबार सहज हुने विश्वास व्यक्त गरे।
तपाईको प्रतिक्रिया