वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख व्यापारिक क्षेत्र आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्ने क्रममा झडप भएको छ ।
राजस्व छलीको समान भण्डारण भएको शंकाका आधारमा गरिएको छापामारीको क्रममा व्यापारी र सुरक्षाकर्मीबीच विवाद चर्किँदा भएको झडपमा एक जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाको आधारमा टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गरेसँगै स्थानीय व्यापारीहरूले आपत्ति जनाएका थिए।
व्यापारीहरूले आफूहरू वैध रूपमा व्यवसाय गर्दै आएको र सबै सामानका बिलबिजक उपलब्ध रहेको दाबी गर्दै सुरक्षाकर्मीले अनावश्यक दबाब दिएको आरोप लगाएका छन्।
त्यसक्रममा आक्रोशित बनेका केही व्यापारीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ। साथै, ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीको प्रयोगमा रहेको गाडीको अगाडिको सिसा समेत फुटेको जनाइएको छ।
छापामारीका क्रममा गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिइएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण सार्वजनिक हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
हाल सामानको लगत संकलन र मुचुल्का तयार गर्ने प्रक्रिया चलिरहेको र गोदामको स्वामित्वबारे पनि अनुसन्धान जारी रहेको नायव उपरीक्षक अधिकारीले जानकारी दिए।
यसैबीच व्यापारीहरूले भने वैध व्यवसायीलाई समेत तस्करजस्तै व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिलबिजक देखाउँदा देखाउँदै पनि सामान जफत गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको उनीहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया