logo

नाकामा ६ महिना बसेका कार्यकर्ता भन्छन् – तेल तस्करीका कारण मधेसको माग पुरा भएन्

      11/22/2017 गते 00 00 मा प्रकाशित     1728   पटक पढिएको

वीरगन्ज-दुई साता पछि हुन लागेको निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न मधेस केन्द्रीत दलका केही नेताले अनेक हतकन्डा अप्नाइरहेका छन् ।

मधेस आन्दोलनको मार्मिक तस्बिर र भिडियो पुन सार्वजनिक गरी जनताको भावना भजाउने प्रयास गरिरहेका छन् । ६ महिनासम्म चलेको आन्दोलनमा मधेसका हरेक जनताले साथ दिएपनि केही नेता र उनका कार्यकर्ताका कारण सफल हुन नसकेको जगजाहेर छ ।

सोझा जनतालाई सडकमा उतारेर नेताले तेल तस्करी गराएपछि नाकाबन्दी फितलो बन्दै गएको थियो । नाकाबन्दीको क्रममा निरन्तर साढे ४ महिना वीरगन्ज रक्सौलको मितेरी पुलमा धर्नामा बसेका र झडपको क्रममा ढुंगा देखि पेट्रोल बम समेत प्रहार गरेका एक युवाको आज कान्तिपुरमा प्रकाशित अन्तर्वाता पढौ 

अब कुनै आन्दोलनमा जान्नँ’

मंसिर ६, २०७४ तेस्रो मधेस आन्दोलनमा वीरगन्जको सीमावर्ती मैत्री पुलमा ६ महिनासम्म धर्ना दिनेमध्ये एक युवक थिए– १३ वर्षीय अजय गिरी । आफ्नो नाम पछाडि ‘क्रान्तिकारी’ झुन्ड्याएका उनी अहिले १५ वर्षका भए, बाराको कलैयास्थित एउटा होटलमा सहयोगीको काम गर्छन् ।

आन्दोलनका क्रममा प्रहरीको गोलीबाट जोगिए । अनगिन्ती अश्रुग्यास खाए । प्रहरीलाई पेट्रोल बम हान्दा उनको हातैमा पडकियो । रबरका गोलीहरू उनका शरीरमा पटकपटक बर्सिए । गरिबीका कारण पढाइबाट वञ्चित भएका, सानैमा बुबा बितेपछि श्रम गरेर परिवार पालिरहेका उनलाई अचेल आन्दोलनले होइन, जनताको एकताले देश बन्ने रहेछ भन्ने लाग्छ ।

प्रस्तुत छ– उनीसँग अखण्ड भण्डारी र लक्ष्मी साहले गरेको कुराकानी ।

तपाईंको नाम के हो ?
अजय गिरी ‘क्रान्तिकारी’ ।

नामै त्रान्तिकारी ?
हो, मेरो नाम राजेन्द्र महतो सरले ‘क्रान्तिकारी’ राखिदिनुभयो । हामी मैत्री पुलमा आन्दोलनमा गएका थियौं । त्यसपछि भेट्नुभयो महतो सर । अनि सरले भन्दिनुभयो– ‘तिमी क्रान्तिकारी ।’

तपाईंलाई मन पर्छ यो नाम ? 
मन पर्छ । 

क्रान्तिकारी भनेको के हो ?
क्रान्तिकारी भनेको देशको सेवाका लागि, विकासका लागि (लड्नु) हो । जसरी कि आन्दोलन भयो, मधेसका लागि । तर, हामीलाई थाहा थिएन कि पार्टीका लागि आन्दोलन गरिरहेका छौं । हामीले सोचिरहेका थियौं कि मधेसका लागि पार्टी आन्दोलन गरिरहेको छ । त्यही भएर त्यसमा हामी गयौं । कति कुटाइ खायौं । कति पिटाइ खायौं । पुलिसलाई कति हान्यौं । त्यसमा गोली लाग्न सक्थ्यो । 

‘क्रान्तिकारी’ शब्दको अर्थ त बुझिएन नि ?
आफ्नो देशमा कोही पीडित भयो, कोहीलाई पीडा भयो । देशमा त्यसलाई कोही पनि सहयोग दिएन भने त्योसँग मिलेर त्यसको काम गराउनु, त्यही हो क्रान्तिकारी । 

त्यसो भए तपाईं ‘क्रान्तिकारी’ हो कि ‘पीडित’ ? 
म त पीडितै हुँु । अहिले क्रान्तिकारी त छैन । त्यो बेला आन्दोलन थियो । हामीले खुबै आन्दोलन र्गयौं । मैले पाँच दिनसम्म आन्दोलनमा खाना खाएन । भोकै थियो । कति छाक मीठा (सख्खर) चिउरा खाएँ । धेरै दुस्ख गरेको थिएँ, मधेस आन्दोलनमा । मधेस आन्दोलन बितेपछि कोही पनि चिन्दैन । माया पनि गर्दैन नेताहरू । 
 
 (आन्दोलनपछि कोही पनि चिन्दैन, माया पनि गर्दैन नेताहरू ।)

 (पुलिसलाई हानेको पेट्रोल बम आफ्नै हातमा पड्कियो ।)

 (आँसुग्यास चल्दा चट्टीको बोरा भिजाएर पुलिसतिरै हान्थ्यौं ।)

 (नेताले भन्छ, त्यो पार्टी गलत छ, फेरि त्यहीलाई सपोर्ट गरिदिन्छ ।) 

 (नेताहरू केही गर्दैन, फोकटमा मर्न लगाउँछ, काट्न लगाउँछ ।) 

 
कति वर्ष पुग्नुभयो ? 
१५ वर्ष । 

पढेको छ कि छैन ? 
पढेको त छैन । 

अक्षर चिन्नुहुन्छ ? 
हल्का चिन्छ । पत्रिका पढ्न जान्दैन । लेख्न सक्दैन । 

घरमा को–को हुनुहुन्छ ? 
म र आमा । म पाँच वर्षको हुँदा बुवा बित्नुभो । खोकी र दम रोगले । दिदी तीन जना । बहिनी एक जना । उनीहरूको बिहे भइसक्यो । 

आमा कहाँ बस्नुहुन्छ ?
काठमाडौं बहिनीको घरमा । 

तपाईं नि ? 
म होटेलमै बस्छु । घर टुट्यो (भत्कियो) । बर्खामा बाढ आएको थियो । त्यसैमा टुटिसक्यो । तीनरचार महिनापछि होटलबाट पैसा उठाएर घर बनाउँछु भन्ने सोच्दै छु । आमा होलीमा आउने भन्नुभएको छ । त्यतिन्जेलमा बनाउनु छ । 

कहिलेदेखि होटलमा काम गर्नुभएको ? 
म पाँच वर्षको हुँदादेखि नै होटलमा काम गर्छु । बुवा बितेपछि घर हेर्ने कोही भएन । आमालाई र बहिनीलाई पाल्नुर्पयो । त्यही भएर काम गर्न थालेको । पछि होटल साहुसँगै १७ हजार रुपैयाँ मागेर बहिनीको बिहे गरें । त्यो पैसा काम गरेर सधाएँ । तीन दिदीको बिहे बुवाले गर्नुभएको थियो । 

अहिलेसम्म कतिवटा होटलमा काम गर्नुभयो ? 
धेरै वटामा । कम्तीमा १०–१५ वटामा । सबभन्दा पहिलो बसपार्कको खसी बजारको होटलमा काम गरें । मिठाईको होटलमा पनि गरें । 

त्यहाँ के गर्नुहुन्थ्यो ? 
भाँडा माझ्थें । त्यहाँ दुईरतीन वर्ष काम गरें । पछि मन नलागेर छाडें । साहुले धेरै कराउँथे, हप्काउँथे । त्यहाँबाट छाडेर बजारको होटलमा काम गरें । फेरि त्यहाँ केही वर्ष काम गरेर छाडें । यस्तै यस्तै काम गरेर ‘लाइफ’ बढाइरहेको छु । 

मधेस आन्दोलनमा कसरी जानुभयो त ?
नेताहरूले भाषण गरिरहेको थियो, हाम्रो मधेसको माग जायज छ रे । किनकि पहाडको मान्छे हुन्छ नि, त्यो हामीलाई हेप्छ । पहाड र काठमाडौंमा हामीलाई गाली पनि दिन्छ । त्यही भएर जुन बेला आन्दोलन भइरहेको थियो, म १३ वर्षको थिएँ । ती सब कुरा सुनेर जोस, जाँगर चल्यो । त्यही बेला मैले होटलको सबै काम छोडिदिएँ । र, आन्दोलनमा होमिहालें । 

सुरुमा कहाँ जानुभयो ? 
कलैयामा आन्दोलन जुन भयो, त्यो क्रान्तिकारी आन्दोलन थियो । त्यसमा धेरै इँटापत्थर (ढुंगामुढा) चलिरहेको थियो । त्यही बेला पत्रकारको गाडी नेताहरूले जलाउने भनिरहेको थियो । तपाईंको कान्तिपुरलाई जलाउने कुरा गरिरहेको थियो । किनभने पत्रकारहरूले तराईको मान्छेको दुस्ख छाप्दैन भनेर सुरुमै गाडी जलाउने योजना बनायो । तर गाडी जलाएन । खाली जलाउने मात्र सबैले भन्थे । पहाडको पत्रकारहरू आउँछन् अनि तराईको दुस्ख छाप्दैन रे भनेर सबै भन्थे । यहाँको दुस्ख काठमाडौंमा हेराउँदैन । त्यही भएर जनतालाई दुस्ख हुन्थ्यो । त्यही भएर रिसाएको थियो पत्रकारसित । 

अनि के भयो ? 
जब क्रान्तिकारी आन्दोलन चलिरहेको थियो, त्यसमा ढुंगाहरू चलिरहेको थियो । त्यसपछि पुलिसहरूले हामीमाथि आँसुग्यास छोड्न थाल्यो । बन्दुकबाट ग्यास छोडदा हाम्रो आँखाबाट आँसु चुहिरहेको थियो । जसलाई पथ्र्यो त्यसले केही सेकेन्डका लागि केही देख्दैनथ्यो आँखाबाट । फेरि त्यही आन्दोलनमा मेरा साथी थियो, कलैयाको हिफाजत मियाँ । उसले गोली खायो । ऊ र म पनि पुलिसलाई ढुंगा हानिरहेका थियौं, यो कलैयाको कुरा हो । आँसुग्यास बेस्सरी चलेपछि छाडेर भागिहाल्थे । तर त्यही बेला साथी हिफाजत मियाँ पक्राइहाल्यो । त्यसको दाहिने हातमा गोली लाग्यो । त्यो भाग्न सकेन । लडिहाल्यो । त्यही बेला एउटा पुलिस आयो । गोली हान्यो । त्यसपछि हामी वीरगन्जको मैत्री पुलमा गयौं, भाषण गर्न । त्यहाँ धेरै मिहिनेत गरें । धेरै कुटाइ, पिटाइ पनि खाएँ । पूरै ६ महिना बसें । 

त्यहाँ कति जना धर्नामा हुन्थे ? 
सुरु–सुरुमा त थुप्रै हुन्थ्यो । त्यसपछि पाँच सय, हजार भयो । जब आन्दोलन कम भयो, कात्तिकमा मान्छे पनि कम भयो, २० जना २५ जना हुन्थ्यो । जुन दिन नाका खुल्यो, ट्रक खुल्यो, त्यो दिन म पनि त्यहीं थिएँ । 

त्यहाँ पुलिसले गोली हान्ने, कुट्ने, पिट्ने गथ्र्यो कि गर्दैन थियो ?
र्गयो नि । त्यो बेला इन्डियामा भोट भइरहेको थियो । जब हामी सुतिरहेका थियौं, पुलिस ढुका लागेर (गौंडा कुरेर) बस्थ्यो । जब सुत्थ्यौं, आएर कुट्थे । मेरो घुँडामा कुट्यो । कुटाइ खाएपछि हामी ढुंगा चलाउँथ्यौं । प्रहरीलाई लखेटदै भगाइदिन्थ्यौं । प्रहरीलाई थाना (चौकी) सम्म र्पुयाउँथ्यौं । त्यस्तै बेला प्रहरीले गोली फायर गरेको थियो । त्यही बेला गोली आशिषकुमार रामलाई लागेको थियो । रक्सौलको आशिष र्मयो । त्यो गोली मलाई नै लाग्ने थियो । त्यो बखतमा म मर्थें । तर संयोगले जोगिएँ । गोली फायर गरेपछि म भुइँमा सुतिहालें । 

भुइँमा सुत्न कसरी सिक्नुभयो ? 
टीभीमा हेरेर सिकेको थिएँ । विचरा आशिष र्मयो । ऊ मेरो मिल्ने साथी थियो । उसको फोटो भन्सारमा अहिले पनि तपाईं गएर देख्न सक्नुहुन्छ । त्यसबेला मैले पुलिसमाथि पेट्रोल बम हान्दा मेरो हात जलेको छ । पुलिसलाई हानेको तर आफ्नै हातमा पड्कियो । उपचार गरें । निको भयो । 

आन्दोलनमा अरू के–के भयो ?
आँसुग्यास धेरै खाएँ । सुरुको आन्दोलनमा कलैयामा त आँसुग्यास चल्दा चट्टीको बोरा भिजाएर पुलिसलाई हान्थ्यौं । पुलिस भाग्थ्यो । पुलिसलाई चोट लागेपछि आ मस्म भन्दै भाग्थे । भारतले नाकाबन्दी लगाएको थियो । (एक दिन) मैत्री पलमा तेल ल्याइरहेको थियो, मैले रोक्यो । भन्यो कि– किन तेल बेच्छौ ? न बेच्नुस् । हाम्रो तराईको माग माग्नु छ । उनीहरूले भन्यो– तँ धेरै बोल्छ ? तलाई पेट्रोल छरेर आगो लगाइदिन्छौं । 

तपाईंले के जवाफ दिनुभयो ? 
केही भन्न सकिनँ, जलाइदिनै के बेर ? डराएँ । चुप लागें । 

आन्दोलन अहिले सम्झिँदा कस्तो लाग्छ ? 
त्यो त एउटा काल थियो, तराईको र पहाडको मान्छेका लागि । नेताहरू कम राजनीति खेल्छ र । नेताले भन्छन्– त्यो पार्टी गलत छ, फेरि त्यहीलाई सपोर्ट गरिदिन्छ, हामीसित सपोर्ट गराएर त्यही पार्टीमा घुसाइदिन्छ । कार्यकर्ता भिडाएर जे पनि गरिदिन्छ, फेरि त्यही पार्टीलाई सपोर्ट गरिदिन्छ । यस्तो त हुन्छ नेपालको राजनीति । 

त्यो बाटो ठीकै थियो त ? 
हाम्रो देश जति सानो छ नि, हैन, यदि हामी जनता मिल्यो भने देश स्वर्ग बन्छ । म धनी भयो भने नेपालको जीवन सुधार्न सक्छु । हामी पहाड र तराईको सबै मिल्यो भने त्यो देश राम्रो हुन्छ । गाउँ–गाउँमा विकास हुन्छ । सडक बन्छ । गाडी पल्टिँदैन । काठमाडौं जाने बेलामा कम जाम लाग्छ ? एउटा–दुईवटा बाटो छ । त्यसैमा ७५ जिल्लाकै गाडी कोचिएको हुन्छ । पूर्वको सिरहा, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, पश्चिम दाङ जाने गाडी यति घातक छ कि एउटा बस नै पल्टिहाल्यो– मधेस आन्दोलनका क्रममा । त्यो भयो, बित्यो । हामी चाहन्छौं, कि सबै मिलेर बसौं । आपस–आपसमा झगडा नहोस् । आफ्नो–आफ्नो जीवन सबै सुरक्षाले धानौं ।

मधेस आन्दोलनले के दियो ? के पाइएको ठान्नुहुन्छ ? 
त्यही एउटा पायौं– देशभक्ति । ८ वटा जिल्लाको २ नम्बर प्रदेश दियो । नेताहरूलाई चाहिँ के दियो, थाहा छैन । हामी त्यो बेला घर पनि गएनौं । ६ महिनासम्म पिटायौं । त्यो फाँवमा (बेकार) गयो । अहिले नेताहरूसित बोल्न जान्छौं त कोही बोल्दैनन् हामीसित । 

६ महिनासम्म आन्दोलनमा जाँदा तपाईंलाई घाटा भयो कि नाफा ? 
कम्तीमा २५ हजार घाटा लाग्यो । होटलमा काम गरेको भए कमाइ हुन्थ्यो । 

अब फेरि आन्दोलन भयो भने जानुहुन्छ ? 
जाँदिनँ । 

किन ?
किनकि, ती नेताहरू केही गर्दैन, कोही मान्छेलाई । खालि फोकट (बेकारमा) मर्न लगाउँछ । काट्न लगाउँछ । 

मधेस आन्दोलनको त्यो बेलाको माग के थियो, थाहा छ ? 
मधेसका लागि शासन, प्रशासन, स्रोत, संघीय प्रदेशको राजधानी । जस्तै– वीरगन्जमा राजधानी भयो भने तराईको जनतालाई सजिलो हुन्छ । तराईको मान्छे काठमाडौंमा कम गयो भने त्यो रोडमा चाप पनि कम हुन्छ । रोड खाली हुन्छ । काठमाडौं जान जिपबाट ६ घण्टा लाग्छ । बसबाट रातभर । जाममा फस्दै–फस्दै जानुपर्छ । दुस्ख हुन्छ । थकाइ लाग्छ । 

तपाईं आन्दोलनमा बुझेर जानुभएको थियो कि नबुझी ? 
त्यही बुझेर गएको थिएँ कि तराई मधेसको जनता पीडित छ । पहाडको नेताहरूले (त्यो कुरा) बुझ्दैनथ्यो । तर त्यो हाम्रो सोच गलत थियो । अब मलाई कुनै पार्टी्सित मतलब हुँदैन । पार्टीका मान्छेहरू गरिबका लागि केही गर्दैन । 

चुनाव हुन गइरहेको छ, कस्तो लागेको छ ?
राम्रो लागिरहेको छ । मैले त सोच्छु कि मासु, दारु नखाएर भोट दिऊँ । नेताहरूले पाँचरछ सय पैसा, मासु दारु, दिन्छ । भोट लिन्छ । केही गर्दैन । पैसा लिने त्यो जनताले पनि सोच्दैन कि किन मासु, दारु, पैसा लिएर भोट दिने ? गएको स्थानीय तहको ‘मुखिया’ को भोटमा मासु, दारु खाएर भोट दिएको हेरेको छु । म नेता भएर कसैलाई पैसा दिएर भोट लिन्छु भने किन विकास गर्छु भन्ने सोच हुन्छ । न नेताले पैसा दिऊन्, न जनताले नेतासित भोटका लागि पैसा लिऊन् भने मेरो सोच छ ।

हस्, तपाईंलाई धन्यवाद । 
धन्यवाद । जय मधेस । जय नेपाल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.