काठमाडौँ । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा आज भएको वार्ता निश्कर्षविहिन बनेको छ ।
सिंहदरवारमा बुधबार साँझ भएको वार्तामा सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र र फोरम नेपालबीच सहमति हुन सकेन ।
आजको बैठक निर्णायक हुने बताइए पनि नेताहरुले समय अपुग भएको कारण भोलि फेरि बैठक बसेर सहमतिको प्रयासलाई जारी राख्ने बताएका छन् ।
बैठक बारे जानकारी दिँदै एमाले नेता प्रदीप ज्ञवालीले आजको बैठकमा संविधान संशोधन र सरकारमा सहभागिताको मोडालिटीबारे छलफल भएको बताए ।
‘संविधान संसोधनको कन्टेन्टमा भन्दा पनि संशोधन र सरकारमा सहभागिताको मोडालिटीबारे छलफल भएको छ । एमालेले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन हुन सक्ने बताउँदै आएको छ । त्यसैको सेरोफेरोमा छलफल र सहमतिको प्रयास भएको छ,’ उनले भने, ‘वार्ता भंग भएको छैन । सकारात्मक दिशामा अघि बढेको छ । आज अलि समय पुगेन । भोलि बिदा पनि छ । भोलि बैठक बसेर यसलाई टुंग्याउँछौँ ।’
यता, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि वार्ता सकारात्मक दिशामा अघि बढेको जानकारी दिँदै छलफल जारी राख्ने बताए ।माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि छलफल सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया