वीरगन्ज । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले कर्फ्यू र निषेधाज्ञाको आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहिवार एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम यो आदेश जारी गरेका हुन।
दैनीक बिहान १० बजे देखी अपरान्ह ५ बजे सम्म कर्फ्यू र साँझ ७ः०० बजेदेखि अर्को दिन बिहान ६ः०० बजेसम्म कर्फ्यू जारी रहनेछ।
दैनिक बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म निषेधज्ञा र अपरान्ह ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञाको अवधि रहने बिज्ञप्तिमा उल्लेख छ।
यो आदेश पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुनेछ।
कर्फ्यूको समयमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधनलाई छुट दिइनेछ। यसबाहेक, पर्यटकका सवारी साधन, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने गाडी र हवाई टिकट भएका यात्रुलाई पनि सुरक्षाकर्मीले सहज रूपमा आवतजावत गर्न दिनेछन्।
निषेधाज्ञाको समयमा भने दैनिक उपभोग्य सामान खरिदबिक्री गर्न र सामान्य आवतजावत गर्न पाइनेछ। तर, यस अवधिमा ५ जना वा सोभन्दा बढी व्यक्ति जम्मा हुन वा कुनै पनि किसिमको सभा, जुलुस, भेला र प्रदर्शन गर्न पाइने छैन। आदेशको उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया