वीरगंज । नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र उल्लासमय बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वको समयमा बजार तथा व्यापारिक क्षेत्रमा भीड बढ्ने, सार्वजनिक यातायातमा चाप बढ्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने र आर्थिक कारोबारसमेत बढ्ने भएकाले प्रहरीले जिल्लाका विभिन्न स्थानमा विशेष निगरानी बढाएको जनाएको छ।
प्रहरीले भीडभाड हुने क्षेत्र, बजार, धार्मिकस्थल तथा संवेदनशील स्थानमा प्रहरी परिचालन गरी नियमित गस्ती र चेकजाँचलाई कडाइ गर्ने जनाएको छ।
चाडपर्वका बेला चोरी, ठगी, जुवातास, मादक तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, आतसवाजी गर्ने लगायतका गतिविधिबाट दुर्घटना तथा जनधनको क्षति हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराधिक गतिविधि वा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरेको छ।
प्रहरीले ‘सुरक्षित चाडपर्व, प्रहरी–नागरिक सहकार्य’लाई प्राथमिकतामा राख्दै चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन नागरिकको समेत महत्वपूर्ण भूमिका रहने जनाएको छ।
कुनै आपतकालीन अवस्था वा सुरक्षा सम्बन्धी सूचना भए प्रहरी कन्ट्रोल नम्बर १००, ९८५५०९०१३६ वा ९८५५०९०३२९ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
त्यस्तै, प्रहरीको फेसबुक पेज तथा इमेलमार्फत पनि सूचना दिन सकिने पर्सा प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया