महामहिम प्रधानमंत्री
श्री नरेन्द्र दामोदरदास मोदी ज्यु
महामहिम ज्यू तपाईलाई आज म सानो देशको सानो गाउँवाट सानो मान्छेले चिठ्ठी लेख्न पाउदा म आफैले आफैलाई तपाईकै इष्ट देवता “जय श्रीराम” (ईश्वर) संग स्पर्श गरेको अनुभुति गरेको छु ।
मैले तपाईलाई उपदेश दिन त सक्दिन तर सुझाव र सुचना चाहि दिन अवश्य सक्छु कि भन्ने लागेर यो चिठ्ठी लेखिरहेको छु ।
खासै बिषय केहि छैन । त्यही हाम्रो पुर्खाको नासो कालापानी, लिपुलेक र लिम्पियाधुरा कै कुरा हो । तपाई संग हामीले जोरी खोजेको होईन महामहिम ज्यू। हामीले हाम्रो नक्साको सम्मान मात्र गरेको हो । हाम्रो पुर्खाको बिरासतलाई संरक्षण मात्र गरेको हो ।
यो पुर्खाको धरोहरलाई हामीले जोगाउन सकेनौ भने हामीलाई भावीपुस्ताले सराप्ने छन । धिक्कार्ने छन । त्यसैले हाम्रो यो मातृभूमीलाई बैरीले गिद्दे नजर मात्र लगाए पनि हामीलाई सह्य हुदैन ।
हाम्रा पुर्खाले बिस्तारवादी ब्रिटीसको बिरुद्वमा सीमानाको किल्लामा बगाएको रगत अझै आलै छ,महामहिम ज्यू । त्यसैले मेरा पुर्खाले शरु गरेको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अहिले सम्म पनि गोर्खाली जातीले निरन्तरता दिई रहेका छन ।
नेपाल कुनै इन्डीपेन्डेण्ट एक्टका आधार स्वतन्त्रता प्राप्त गरेको मुलुक होइन हजुरहरुलाई औपनिवेशीक दासताको जन्जीरमा कैद गर्न सफल साम्राज्यवादीहरुलाई परास्त गरेर संसारमै स्वतन्त्र राष्ट्रको गौरव गर्ने दर्विलो इतिहास हामीसंग छ ।
त्यसले अहिले पनि हामीलाई संसार जित्न सक्ने प्रेरण दिइरहेको छ । गोर्खाली जाति अनाहकमा कसै संग जोरी खोज्दैन, महामहिम ज्यु । तर जोरी खोज्दै आयो भने जस्तै सुकै किन नहोस् पछि नहट्ने हाम्रो पुर्खौली परम्परा छ ।
हो, हाम्रा पुर्खाले हामीलाई समृद्वि दिन सकेनन । सम्पन्नता दिन सकेनन तर हाम्रा पुर्खाले एउटा असल मातृभूमि दिएर गएकोमा हाम्रा पुर्खा प्रति हामी गर्व गर्छौ ।
विश्वमा गोर्खाली जातिले एउटा सर्वभौमसत्ता राष्ट्र राख्न सकेकोमा हाम्रो देश र हाम्रा पुर्खा प्रति हामीलाई गौरव छ । यो गोर्खालीको लागि कहिल्यै भुल्न नसक्ने पुर्खाको बिरासत हो । त्यसैले राष्ट्रीयता, स्वाभिमान र राष्ट्रीय अखंडताको विषयमा हामी गोर्खालीहरु धेरै सम्वेदनसिल र भावुक हुदो रहेछौं महामहिम ज्यू।
गोर्खालीले आफूले आफैलाई बिर्सन सक्छ तर यो पुर्खाको चिनोलाई बिर्सन सक्दैन । त्यसैले यो राष्ट्र बचाई राख्न आजको पुस्ता पनि त्यति कै ज़िम्मेवारी र गम्भिर रहनु हाम्रो प्रमुख दायित्व हो भन्ने कुराको हेक्का हामीलाई छ ।
हाम्रा पुर्खाहरुले भन्नु हुन्थ्यो “दक्षिणको छिमेकी संग जहिले पनि होसियार रहनु” त्यसैले महामहिम ज्यू होसियारी मात्र अपनाएको हो । किनभन्ने बिगतको तपाईहरुको ब्यवहार हेर्दा पनि त्यस्तै देखिन्छ ।
सन् १९४७ मा स्वतन्त्र देश जम्मु कश्मीर र हैजरावादलाई जवाहरलाल नेहरुले भारतमा बिलय गरेर बिस्तारवादको चरित्र देखाए । त्यस्तै पछि इन्दिरा गान्धीले सन् १९७५ मा स्वतन्त्र देश सिक्किमलाई भारतमा बिलय गरेर बिस्तारवादको दुनियामा अर्को कीर्तिमान रचीन । तपाईलाई पनि आधुनिक भारतको सवैभन्दा चर्चित अनि शक्तिशाली प्रधानमंत्री भन्छन ।
तपाई पनि सिंह जस्तो गर्जि रहनु भएको छ । त्यसैले महामहिम ज्यू हामीलाई शंका लाग्न थाल्यो । सिक्किम,जम्वु कश्मीर र हैदरावादलाई निलेर इन्दिरा र नेहरुले विस्तारवादी इतिहास रचे जस्तै कतै आफुलाई शक्तिशाली देखाउन तपाई पनि कहि इन्दिरा र नेहरुकै बाटो रोज्दै त हुनुहुन्न ? यदि त्यस्तो कु बाटो रोज्नु भयो भने त्यो तपाई र तपाईको देशलाई आजसम्म कै सवैभन्दा ठुलो घात हुन्छ।
विश्वमा विस्तारवादको युग चल्दा समेत हाम्रा पुर्खाले जोगाएर राखेको मुलक हो यो । गोर्खालीले बिस्तारवादको बिरुद्व हिजो पनि लडेकै हो आज पनि लड्न तयार छ । मातृभूमिको लागि गोर्खालीले एक थोपा रगत रहुन्जेल युद्वको मैदानमा बैरी संग लडाई लड्न छोड्ने छैन ।
अरु छिमेकी देश निलेको जस्तो नेपाललाई सोच्नु भएन । बिस्तारवादी अंग्रेजको नीतिलाई समेत अस्वीकार गरेर,अग्रेजको गुलामलाई अस्वीकार गरेर युद्व रोज्ने गोर्खाली जाति हो हामी । सानो देश भनेर हेप्नाले गर्दा अग्रेजले अनुभवी लड़ाकु युद्व सेनापति जनरल जिलेस्पीले युद्वको मैदानमा देह त्याग्नु पर्यो । र गोर्खालीको बहादुरीलाई अग्रेजले स्वीकार गरि सन् १८१६ मा सुगौली सन्धी गर्न बाध्य भएको इतिहास साक्षी छ ।
अहिलेको नेपाल भारतको समस्याको समाधान पनि त्यही सुगौली सन्धीमा उल्लेख छ । बिज्ञहरुलाई राम्रो संग पढ्न लगाउनु होस् । सन्धीको धारा ५ मा नेपालले काली नदीको पश्चिमको भू भाग सवै त्याग्नु पर्ने छ भन्ने उल्लेख गरेको हुदा काली नदी देखि पूर्वको भूभागमा पर्ने कालापनी,लिपुलेक र लिम्पियाधुरा नेपालमा भएको यथेष्ट प्रमाण भएन र ? अनि के को लफड़ा ? के मा भयो समस्या ? यसले तपाईको छविमा आँच पुगिरहेको छ। आफ्नो सेना आफ्नै भूमिमा पर्काएर समस्या समाधानको बाटो रोज्दा राम्रो हुन्छ ।
तपाईले त नेपाललाई “हमरा लिए नेपाल तिर्थधाम हे” भन्नुहुन्छ । यदि नेपाल तिर्थधाम हो भन्ने तपाई तिर्थधाम जादा मंदिरको घण्टी राम्रो लाग्यो भनेर झोलामा राख्न खोज्नु भयो भने पुजारीले के गर्छ ? आफूसंग भएको चिम्टा निकालेर तपाईको टाउकोमा हिर्काउने छ । तपाई जति सुकै ठुलो मान्छे किन नहोस ।अर्को पटक तपाईलाई मंन्दिरको ढोका बन्द हुन्छ ।
त्यसपछि काहॉ गयो तपाईको धर्म ? अनि काहॉ गयो तपाई त्यागपूर्ण सन्यासी जीवन ? तिर्थ जादा सकिन्छ, दान दिएर आउने सकिदैन लोभ गर्नु हुदैन भन्ने हजुर जस्तो तप र जप गर्ने मान्छेलाई ज्ञात भएकै हुनु पर्छ । तिर्थ स्थलको समान राम्रो देख्यो भनेर नजर मात्र लगाउनु समेत पनि भक्तजनको लागि महापाप हो ।
तपाईहरुकै परराष्ट्र विद्वले “नेपाल भारत रोटी बेटीका सम्वन्ध हे” भन्नु हुन्छ । तर ब्यवहार भन्ने त्यस्तो देखिदैन । हुनसक्छ, भूगोलले नेपाल सानो राष्ट्र हो । तर यो एउटा स्वतन्त्र सर्वभौमसत्ता सम्पन्न राष्ट्र हो ।
भारतको जति कै हैसियत राख्ने राष्ट्र हो यो । भारतको भाई नेपाल होईन र नेपालको दाई भारत पनि होईन । यो हेपाहा प्रवृतिको मुख्य कारण हो । समान हैसियतले नेपालसंग ब्यवहार गरौ । आधा समस्या त्यतिकै हल हुन्छ । र सीमानाको विषयमा छिटो भन्दा छिटो दुवै देशका प्रतिनिधि बसेर छलफल गरौ ।
आलटाल नगरौ । त्यसपछि सेनालाई आफ्नो देशमा फिर्ता बोलाउन हिम्मत राख्नुहोस् । समाधानले बाटो आफै कोर्दै हिड्छ । सदियौ देखि नेपाल भारतको सीमानाको समस्या सदाको लागि अन्त्य हुन्छ । त्यसपछि महामहिम ज्यू तपाईको दुई देश मात्र होईन अन्तर्राष्ट्रिय स्तरमा नै हाईट बढ्ने छ ।
नेपालभारतको सम्वन्धको बिषयमा बीचमा ट्याउट्याउ कराउने तपाईलाई मन नपर्ने तेस्रो पक्ष भनिनेको बोली पनि बन्द हुनेछ । तपाईको तिर्थधाममा पनि तपाईको जय जयकार मनाउनेछ । यो हिम्मत चाही निकाल्नुहोस् ।
इतिहासलाई हामी सच्चाउन सक्दैनौ तर इतिहासवाट सिक्न सकिन्छ । यहि हो इतिहासवाट सिक्ने समय । इतिहासमा गरेको गल्तीलाई इतिहासमा नै सच्याउन नसके पनि इतिहासवाट सिकेर आज नेपाल भारत वीच भएको कमीकमजोरीलाई सच्याउन सकिने समय आएको छ । तपाईले फेरि सुनौलो इतिहास रच्ने समय आएको छ । तपाईकै कोर्टमा छ बल, हान्नुहोस् ।
अनि नेपाल भारतको सम्वन्धलाई अमर बनाउनुहोस । दुनियामा नेपाल भारतको सम्वन्ध उदाहरणीय बनाएर देखाउनुहोस् । समय आएको छ पर्खिदैन । यो मेरो सुझाव मात्र हो । वाकी महामहिम ज्युको बिचार । नेपाल भारतको सीमा समस्या समाधान भए फेरि एउटा शुभकामना पत्र लेखौला । जय नेपाल ।
सन्तोष श्रेष्ठ
नेपाल (यो पत्र श्रेष्ठको सामाजिक संजालबाट लिइएको हो )
तपाईको प्रतिक्रिया