सप्तरी । सप्तरी प्रहरीले बुधवार ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा छिन्नमस्ता गाउँपालिका–४ बाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ८ क्विन्टल ३२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले को १ च ९६६५ नम्बरको पिकअप भ्यान पनि नियन्त्रणमा लिएको छ।
घटनासँगै सप्तरी जिल्लाको राजविराज नगरपालिका–११ निवासी रामकुमार यादवलाई पक्राउ गरिएको छ। यादव उक्त सवारीसाधनका चालक रहेको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका यादवविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अवैध कारोबारको नेटवर्कबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया