वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। ठोरी गाउँपालिका–३ ब्रह्मनगरबाट प्रहरीले करिब १ सय ५७ केजी गाँजा नियन्त्रणमा लिएको हो।
मकवानपुर जिल्लाबाट वनको बाटो हुँदै पर्सा भित्र्याइएको गाँजा भण्डारण गरिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले मंगलबार राति ब्रह्मनगर निवासी छिरिङ दोङको घरमा छापा मारेको थियो।
छापामारीका क्रममा घरभित्रबाट ९५० ग्राम गाँजा र घर नजिकैको खेतमा लुकाइराखिएको अवस्थामा १० पोका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार दोङको दुईतले काठको घरको माथिल्लो तलामा रहेको कोठाबाट सुरुमा गाँजा फेला परेको थियो। त्यसपछि प्राप्त सूचनाअनुसार घर नजिकैको खेतमा परालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरिएको हो।
लागूऔषध घरभित्र र बाहिर लुकाइराख्ने कार्यमा संलग्न रहेका छिरिङ दोङ प्रहरी पुग्नुअघि नै फरार भएकाले हाल उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया