वीरगञ्ज । प्रहरीले पर्साले पर्सागढी नगरपालिका–१ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार माघ ८ गते राति करिब ९ः४७ बजे पर्सागढी नगरपालिका–१ स्थित कोईलाभार गाउँमा झै–झगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट मनवाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुग्दा स्थानीय बासिन्दासँग हो–हल्ला गर्दै गालीगलौज गरिरहेको अवस्थामा पर्सागढी नगरपालिका–१ निवासी ३८ वर्षीय जय नारायण खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा खवासले मादक पदार्थ सेवन गरेको पाइएको तथा उनको साथबाट लाइसेन्सविहीन भरुवा बन्दुक एक थान र १३ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार बरामद हातहतियारको स्रोत, प्रयोगको उद्देश्य तथा यससँग सम्बन्धित अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका खवासमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया