काठमाण्डौ २९ चैत। भारतमा नोठबन्दीका कारण खोस्टा भएका भारतीय रुपैया साटिन्छन की भन्ने ठानेर नेपालमा जम्मा गर्न थालिएको छ ।
प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिीलाबाट भारतमा नोठबन्दी पछि कामै नलाग्ने भएका ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
भर्खर मात्र प्रधानमंत्री ओलीको भारत भ्रमणका क्रममा नेपालमा रहेको भारतीय मुद्राका बिषयमा के गर्ने भन्ने बिषय पनि समाविष्ठ थियो। नेपालमा भारतीय मुद्रा साट्ने अवस्था सृजना हुने लोभमा काम नलाग्ने भारतीय रुपैया नेपाल भित्रिन थालेको हो ।
नेपालमा रहेको ५ सय र हजारका भारु सटहीका लागि अझै कुनै व्यवस्था भएको छैन । तर, नेपालमा रहेको ५सय र हजारका भारु साटिने आशमा भारतबाट नेपालमा पैसा ओसार्ने प्रयास सुरु भएको छ ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका ५ का ५० वर्षीय चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई एक हजार दरका २२ सय ६ थान र ५ सय दरका ५४ सय ५१ वटा नोटसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम सङ्कलन गरेर काठमाडौंसम्म ल्याउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले छापा मारेको थियो ।
तपाईको प्रतिक्रिया