२ करोड ६० लाख बराबरको केराउ भण्डारण गरिएको एउटा गोदामनै प्रहरीले कब्जामा लिएको छ । भारतसंग सीमा जोडिएको बीरगंजको इनर्वा गाउँमा रहेको गोदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त गस्ती टोलीले भण्डारण गरिएको केराउ नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने डीआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।
भारत निकासीकालागि सहज हुने भएको सीमावर्ती क्षेत्रमा केराउ भण्डारण गरिएको प्रहरीको बुझाई छ । ललितपुर निवासी बेदान्त जंग राणा संचालक रहेको बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिले बीरगन्ज महानगरको वडा नम्बर १६ इनर्वा बोर्डर नजिक अवैध रूपमा केराउ भण्डारण गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
मंगलवार राती केराउ लोड गरिएको ट्रयाक्टरको प्रहरीले पिछा गरेको थियो । ट्रयाक्टरको पिछा गर्दै जादा प्रहरी केराउ भण्डारण गर्ने गोदाममा पुगेको हो । गोदामलाई प्रहरीले शिल गरेको छ । प्रहरीले ना ६.त ८७१० नम्बरको ट्याक्टर सहित एक ब्यक्तिलाई पनि नियनत्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया