वीरगञ्ज । पर्साका विभिन्न स्थानमा आयोजित दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रममा १ सय १६ जनाले रक्तदान गरेका छन्। पर्सागढी युवा समाज र प्रगतिशील युवा क्लब वीरगञ्जले आयोजना गरेका कार्यक्रममा युवादेखि स्थानीय बासिन्दासम्मले उत्साहपूर्वक सहभागिता जनाएका हुन्।
पर्सागढी युवा समाजको आयोजनामा शनिवार पर्सागढी नगरपालिका–९, बडेर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।
पर्सागढी नगरपालिका हरपुर, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज र ब्लड बैंक वीरगञ्जको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी एक रक्तदाताले आफ्नो जीवनको १०औँ पटक रक्तदान गरेका छन्।
उनले पुनः रक्तदान गर्न पाउँदा गर्व महसुस भएको बताउँदै रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिन सबैलाई आग्रह गरेका छन्।
त्यसैगरी, प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ क्लब भवनको प्राङ्गणमा बिहान ९ः३० बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा वडा अध्यक्ष रमेश यादवको उपस्थिति रहेको थियो।
उनले रक्तदानजस्तो मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
दुवै कार्यक्रममा रक्तदाताहरूले रक्तदानले अरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने भन्दै यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।
दुवै संस्थाले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अभियानका रूपमा अघि बढाउन युवाहरूले देखाएको सक्रियताले समाजमा सकारात्मक सन्देश दिएको छ।
तपाईको प्रतिक्रिया