वीरगंज । परवानीपुर गाउँपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशनअन्तर्गत १७औँ अधिवेशन आज पालिकाको सभा हलमा सम्पन्न गरेको छ। अधिवेशन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।
गाउँसभामा आर्थिक वर्ष २०८२र०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा गरिएको संशोधनसमेत पारित गरिएको छ।
अधिवेशनमा जनप्रतिनिधिहरूले उठाएका गुनासोहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मी एवं उपप्रमुख सुगान्धी देवी गुप्ताले परवानीपुर गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्म भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, दलित तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए ।
उनले समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्यसहित सबै जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्दै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१ /०८२ मा सबैभन्दा ठूलो करदाता ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. का सञ्चालक सुरेश रुंङटालाई गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ।
प्रा.ली.ले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको छ । त्इसतै जय श्री हेल्थ केयर प्रा.लि. ले ६ लाख रुपैयाँ समयमै कर बुझाएको भन्दै गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ।
त्यसैगरी १४ लाख १० हजार रुपैयाँ कर संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी कार्यालयलाई पनि सम्मान गरिएको छ।
वडा मातहतका उद्योगहरूबाट सहजीकरण गरी कर संकलनमा योगदान पुर्याएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साह कलवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
तपाईको प्रतिक्रिया