२१ माघ २०७३ मा नारायणी अस्पतालबाट नवजात शिशु चोरी भयो । लालसा देवी नामकी महिलाले बिवाह भएको पाँच वर्ष बित्दा पनि सन्तान नभएपछि चोरी गरेकी थिइन ।
चोरी भएको ४८ घण्टामा शिशु फेला पर्यो । तर शिशु पक्षले नारायणी अस्पतालका नर्सहरुको मिलोमतोमा शिशु चोरी भएको भनेर तथानाम भने । त्यतीबेलाको त्यो ०४८ घण्टा ति नर्सिङ स्टाफलाई मर्नु न बाँच्नु भयो ।
अनेकौ आरोप र भौतीक आक्रमणका धम्कीहरु सहनु पर्यो । त्रास र अपमानको मनोबिज्ञानमा ति ०४८ घण्टा उकुसमुकुसपूर्ण अवस्थामा बित्यो । त्यसको स्मरण अहिले पनि नर्सिङ स्टाफले गरिरहेको शुक्रवार जारी गरेको बिज्ञप्तिले पनि देखाएको छ ।
पछिल्लो पटक हास्यकलाकार आदर्श मिश्रले आफनो बुबा बिनोद मिश्रको ज्यान जानुमा नर्सिङ स्टाफको पनि दोष रहेको भन्दै टिप्पणी गरेपछि नारायणी अस्पतालको डायलासिस बिभागका नर्सहरुले आफूहरु माथि लगाईएको आरोप मिथ्या भएको जनाएका छन ।
नेपाल नर्सिङ संघ बीरगंज शाखाको तर्फबाट अहेमा थापाले एक बिज्ञप्ति जारी गरेर आफूहरु माथिको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुृ भएको छ । एक नर्स भएको नाताले कुनै पनि बिरामीको मृत्युको हामी कल्पान समेत गर्न सक्दैनौ बिज्ञप्तिमा लेखिएको छ बिरामीको सेवा गरेर बिरामीलाई निको बनाई सकुशल घर फर्काउने एक मात्र उद्धेश्य लिएर आफनो सेवा प्रदान गर्दछौ ।
यस अघि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंज र नारायणी अस्पतालले बिज्ञप्ति निकालेर बिनोद मिश्रको उपचारको क्रममा भएका तथ्यहरु सार्वजनीक गरिसकेका छन ।
हास्य कलाकार आदर्श मिश्रलेले सामाजिक सञ्जाल मार्फत भिडियो बनाएर आफ्नो बुवा विनोद मिश्रको मृत्युको दोष नेशनल मेडिकल कलेज नारायणी अस्पताल र डा.निरज सिंह माथि लगाउनु भएको थियो ।
डा.निरज सिंहले पनि सामाजिक संजालमा एक भिडियो सन्देश मार्फत यर्थाथ कुरा सार्वजनीक गर्नु भएको छ । सबैले मिश्रको निधन प्रति दुःख ब्यक्त गरेका छन । तर मृत्युकोलागि आफू कारक नभएको प्रष्ट पारेका छन ।
कोभिड १९ का संक्रमीत मिश्रको जेठ १० गते नारायणी अस्पतालमा डायलासिस भएको र त्यसपछि उहाँलाई थप उपचारकालागि चितवन लगिएको थियो ।
उहाँको चितवनमै उपचारको क्रममा मृत्यु भएको थियो । बीरगंजमा राम्रो उपचार नभएकै कारण आफनो बुबाको ज्यान गएको आर्दश मिश्रले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको थियो । उहाँले नर्सिङ स्टाफलाई समेत डायलासिस मेशीनको टाइमर घटाएको आरोप लगाउनु भएको थियो ।
घटनाको सम्बन्धमा छानविन गर्न नर्सिङ संघले माँग गरेको छ । मृत्युको तथ्य यकिन गर्न माँग गर्दै संघले नर्सिङ स्टाफलाई आक्षेप लगाउने , बिरामीको उपचार सेवामा असर पुर्याउने र जनमानसमा भ्रम सृजना गराउन खोज्नेलाई कारवाही गर्न माँग गरेको छ । संघले फ्रन्टलाईनर योद्धाहरुलाई काम गर्ने सहज वतावरण बनाईदिन सरोकारवाला निकायसंघ माँग गरेको छ ।
तपाईको प्रतिक्रिया