logo

समाजवादको अभ्यास र प्रतिक्रान्ति भएका देशहरू

 इसीमाना सम्बाददाता     २०८३ असोज १९ गते ०७: ४७ मा प्रकाशित     42   पटक पढिएको
 
बीसौँ शताब्दी विश्व इतिहासमा यस्तो युग बन्यो जहाँ उत्पीडित सर्वहारा वर्गले सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै पुँजीवादी तथा सामन्ती सत्ताका विरुद्ध सशस्त्र विद्रोह र क्रान्तिको शङ्खनाद गरे।
 
 
यद्यपि समाजवादी आन्दोलन एकरेखीय मार्गमा अगाडि बढेको छैन; यसमा असाधारण विजय, युगान्तकारी रूपान्तरण, भयानक प्रतिक्रान्ति र जटिल पुनर्संरचनाका घुम्तीहरू विद्यमान छन्।
 
पेरिस कम्युनको पहिलो भ्रूणदेखि अक्टोबर क्रान्तिको विस्फोट हुँदै आजसम्म आइपुग्दा विश्व समाजवादका तीन स्पष्ट ऐतिहासिक धाराहरू देखा पर्दछन्ः पहिलो, क्रान्ति सम्पन्न गरी पुँजीवादी घेराबन्दीका बीच हालसम्म टिकिरहेका देशहरू; दोस्रो, समाजवादको सफल अभ्यास गरेर पनि संशोधनवाद र बाह्य षड्यन्त्रका कारण पुँजीवादी पुनस्र्थापना भोग्न बाध्य भएका देशहरू र तेस्रो, समाजवादी यात्रा प्रारम्भ गरे पनि साम्राज्यवादी बर्बरता, सैनिक कू र आन्तरिक सीमाका कारण छोटो समयमै उल्ट्याइएका ऐतिहासिक प्रयासहरू।
 
 
यहाँ विश्वका केही त्यस्ता देशहरूको बारे चर्चा गरिएको छ, जहाँ समाजवादको अभ्यास भइरहेको छ वा विगतमा त्यस्तो अभ्यास भएर अहिले प्रतिक्रान्तिमा बदलिएको छ।
 
(क) समाजवादी देशहरू
 
बीसौँ शताब्दीको उत्तरार्धमा सोभियत सङ्घको विघटनपछि पुँजीवादी सिद्धान्तकारहरूले ‘इतिहासको अन्त्य’ भएको र पुँजीवाद नै अन्तिम व्यवस्था भएको घोषणा गरेका थिए। तर विश्वका पाँच मुलुकहरूले साम्राज्यवादी नाकाबन्दी, वैचारिक आक्रमण र आन्तरिक चुनौतीहरूको सामना गर्दै कम्युनिस्ट पार्टीको अग्रगामी भूमिका र मार्क्सवाद–लेनिनवादको मार्गदर्शक सिद्धान्तलाई आजपर्यन्त जीवन्त राखेका छन्।
 
१. जनगणतन्त्र चीन
 
सन् १९४९ मा कमरेड माओ त्सेतुङको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिले अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनलाई मुक्त गर्‍यो। करिब एक शताब्दी लामो साम्राज्यवादी अपमान र आन्तरिक लुट अन्त्य गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले श्रमिक जनताको अधिनायकत्व स्थापित गर्‍यो।
 
 
माओकालीन चरणमा भूमिसुधार, कृषि सहकारीकरण, आधारभूत भारी उद्योगहरूको निर्माण र समाजवादी सांस्कृतिक रूपान्तरणको जग बसालियो। सन् १९७८ पछि देङ सियाओपिङको नेतृत्वमा सुरु भएको ‘सुधार र खुलापन’ ले समाजवादको प्राथमिक चरणको अवधारणा अघि सार्दै उत्पादक शक्तिहरूको विकासबिना गरिबी बाँड्नु समाजवाद हुन नसक्ने निष्कर्ष निकाल्यो।
 
 
वर्तमानमा सी जिनपिङको नेतृत्वमा चीनले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ अङ्गीकार गर्दै करिब ८० करोड जनतालाई निरपेक्ष गरिबीबाट बाहिर निकालेको छ।
 
 बैङ्किङ, ऊर्जा, दूरसञ्चार, यातायात र भारी उद्योग जस्ता रणनीतिक क्षेत्रमा सार्वजनिक तथा राज्य स्वामित्व कायम राख्दै उच्च प्रविधिको विकास गरेर चीन आज अमेरिकी साम्राज्यवादी एकध्रुवीय प्रभुत्वलाई चुनौती दिने समाजवादी शक्तिका रूपमा उभिएको छ।
 
२. क्युबा
 
सन् १९५९ मा फिडेल क्यास्ट्रो, चे ग्वेभारा र राउल क्यास्ट्रोको नेतृत्वमा सम्पन्न क्युबाली क्रान्तिले अमेरिकी साम्राज्यवादको नव–औपनिवेशिक क्रीडास्थल बनेको बातिस्ताको तानाशाही सत्तालाई चकनाचुर बनायो। अमेरिकाको समुद्री तटबाट मात्र ९० माइल टाढा रहेको क्युबाले छ दशकभन्दा लामो समयदेखि क्रूर आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको सामना गरिरहेको छ।
 
मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित क्युबाली समाजवादले शिक्षा र स्वास्थ्यलाई नाफामूलक बजारबाट पूर्ण रूपमा मुक्त गरी निःशुल्क, सर्वसुलभ र विश्वस्तरीय बनायो। क्युबाको स्वास्थ्य प्रणाली आज विश्वमै उदाहरणीय मानिन्छ, जसले ‘चिकित्सा अन्तर्राष्ट्रियतावाद’ मार्फत विश्वका विपन्न मुलुकहरूमा लाखौँ नागरिकलाई निःस्वार्थ सेवा दिँदै आएको छ।
 
सोभियत सङ्घको विघटनपछि उत्पन्न भीषण ‘विशेष अवधि’ को भोकमरी र अभावलाई क्युबाली जनताले समाजवादी चेतना र दृढताका आधारमा परास्त गरे। स्थानीय जनशक्ति, जनशक्तिको प्रत्यक्ष सहभागिता र जैविक कृषिको विकास गर्दै क्युबा आज पनि ल्याटिन अमेरिकामा साम्राज्यवाद विरोधी प्रतिरोधको मुख्य प्रेरणास्रोत बनिरहेको छ।
 
३. भियतनाम
 
भियतनामको समाजवादी इतिहास कमरेड हो–चि मिन्हको नेतृत्वमा सञ्चालित साम्राज्यवाद विरोधी सशस्त्र जनयुद्धको गौरवशाली गाथा हो। भियतनामी जनताले पहिले फ्रान्सेली औपनिवेशिक सेनालाई सन् १९५४ को डिएन बिएन फुको लडाइँमा पराजित गरे र पछि सन् १९७५ सम्म चलेको युद्धमा अमेरिकी साम्राज्यवादी बर्बरता, रासायनिक हतियार (एजेन्ट ओरेन्ज) र लाखौँ टन बमको वर्षालाई परास्त गर्दै देश एकीकृत गरी समाजवाद स्थापना गरे।
 
युद्धले ध्वस्त पारेको अर्थतन्त्रको पुनरुत्थानका लागि भियतनामी कम्युनिस्ट पार्टीले सन् १९८६ मा ‘दोई मोई’ (आर्थिक नवीकरण) नीति अघि सार्‍यो। यसले रणनीतिक क्षेत्रहरूमा राज्य नियन्त्रण कायम राख्दै बजार संयन्त्रलाई समाजवाद निर्माणको सेवामा परिचालन गरेको छ।
भियतनामले आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट पार्टीको नेतृत्वलाई अक्षुण्ण राख्दै उच्च आर्थिक वृद्धि, सामाजिक सुरक्षा र गरिबी निवारणमा व्यापक प्रगति हासिल गरेको छ।
 
४. लाओस
 
इन्डो–चाइना प्रायद्वीपमा अमेरिकी गुप्त युद्धको सर्वाधिक मार खेपेको देश लाओस हो, जहाँ प्रतिव्यक्ति अनुपातमा इतिहासकै सबैभन्दा धेरै बम खसालिएको थियो। कमरेड काइसोन फोमविहानेको नेतृत्वमा रहेको ‘पाथेत लाओ’ आन्दोलनले सन् १९७५ मा सामन्ती राजतन्त्र र अमेरिकी कठपुतली सत्तालाई परास्त गरी लाओ जनवादी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो।
 
लाओ पिपुल्स रिभोल्युसनरी पार्टीले सन् १९८६ देखि ‘नयाँ आर्थिक संयन्त्र’ लागू गर्‍यो। भूपरिवेष्ठित र भौगोलिक रूपमा विकट रहेको लाओसले प्राकृतिक स्रोत, जलविद्युत र क्षेत्रीय पूर्वाधारको विकास गर्दै समाजवादी रूपान्तरणको बाटो तय गरिरहेको छ, जहाँ राज्यले रणनीतिक क्षेत्रको नियन्त्रण आफ्नै हातमा राखेर ग्रामीण गरिबी न्यूनीकरण र साक्षरता विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ।
 
५. उत्तर कोरिया
 
सन् १९४८ मा कमरेड किम इल सुङको नेतृत्वमा स्थापित उत्तर कोरियाले जापानी औपनिवेशिक दासता र सन् १९५०–५३ को अमेरिकी आक्रमणको विरुद्ध भीषण लडाइँ लड्यो। कोरियाली प्रायद्वीपको विभाजनपछि उत्तर कोरियाले उत्पादनका साधनमाथि पूर्ण सामाजिकीकरण गर्दै निःशुल्क आवास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्‍यो।
 
उत्तर कोरियाले मार्क्सवाद–लेनिनवादसँगै आत्मनिर्भरताको ‘जुचे’ र ‘सोङगुन’ (सैन्य–प्रथम) विचारका आधारमा आफ्नो सार्वभौमसत्ता र समाजवादको रक्षा गर्दै आएको छ। पश्चिमी साम्राज्यवादको निरन्तर आणविक धम्की र नाकाबन्दीका बीच यसले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षाका निम्ति बलियो प्राविधिक तथा प्रतिरक्षा क्षमता सुदृढ गरेको छ र पुँजीवादी पुनर्स्थापनालाई अस्वीकार गर्दै साम्राज्यवाद विरोधी मोर्चामा दृढतापूर्वक उभिएको छ।
 
(ख) समाजवादी सत्तामा प्रतिक्रान्ति भएका देशहरू
 
विश्व कम्युनिस्ट आन्दोलनको दोस्रो आयाम भनेको समाजवाद स्थापना भएर पनि कालान्तरमा भयानक प्रतिक्रान्ति र पुँजीवादी पुनस्र्थापना भोग्न बाध्य भएका देशहरूको इतिहास हो। यो वैज्ञानिक समाजवादको असफलता थिएन, बरु पार्टीभित्र हुर्किएको संशोधनवाद, नोकरशाहीकरण, उत्पादन सम्बन्धको जडता र साम्राज्यवादी वैचारिक विध्वंसको दुष्परिणाम थियो।
 
१. सोभियत समाजवादी गणतन्त्र सङ्घ
 
सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिले भ्लादिमिर लेनिनको नेतृत्वमा इतिहासमै पहिलोपटक सर्वहारा अधिनायकत्व स्थापित गरेको थियो। सोभियत सङ्घले इतिहासमै पहिलोपटक आठ घण्टे कार्यदिन, महिलाको समान अधिकार, निःशुल्क शिक्षा, स्वास्थ्य, पूर्ण रोजगारी र योजनाबद्ध औद्योगीकरणको कार्यान्वयन गर्‍यो।
 
जोसेफ स्टालिनको नेतृत्वमा सोभियत सङ्घले सामन्ती कृषिप्रधान देशलाई आणविक र अन्तरिक्ष युगको महाशक्तिमा रूपान्तरण गर्‍यो र नाजी फासीवादलाई परास्त गर्न २ करोड ७० लाख नागरिकको बलिदान दिएर निर्णायक भूमिका खेल्यो।
 
तर सन् १९५३ मा स्टालिनको मृत्युपछि निकिता ख्रुश्चेभको आगमनसँगै सोभियत पार्टीमा आधुनिक संशोधनवादले प्रवेश पायो। ख्रुश्चेभले अघि सारेको ‘सम्पूर्ण जनताको राज्य’ र ‘शान्तिपूर्ण सह–अस्तित्व’ को गैर–मार्क्सवादी सिद्धान्तले वर्गसंघर्षको मर्ममाथि प्रहार गर्‍यो र नोकरशाही अहंकारले पार्टीलाई मजदुर वर्गबाट विमुख बनायो।
 
सन् १९८० को दशकमा मिखाइल गोर्बाचोभले अगाडि सारेको ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ ले पुँजीवादी बजार अराजकता र बुर्जुवा बहुलवादलाई वैधता दियो। अन्ततः सन् १९९१ डिसेम्बरमा पार्टीभित्रै हुर्किएको नोकरशाही पुँजीपति वर्ग र साम्राज्यवादी शक्तिहरूको मिलेमतोमा सोभियत सङ्घको विघटन गरियो र रुससहित १५ गणतन्त्रहरूमा ‘शक थेरापी’ मार्फत सार्वजनिक सम्पत्ति निजीकरण गरी ओलिगार्कहरूको उदय गराइयो।
 
२. जर्मन जनवादी गणतन्त्र
 
सन् १९४९ मा स्थापित पूर्वी जर्मनी समाजवादी शिविरको पश्चिमी सिमाना थियो। यसले युद्धको भग्नावशेषबाट उठेर उच्च औद्योगिक आधार, पूर्ण रोजगारी, निःशुल्क आवास र सामाजिक सुरक्षाको उदाहरणीय ढाँचा निर्माण गर्‍यो।
 
यद्यपि, पश्चिमी पुँजीवादको निरन्तर उपभोगवादी प्रचार, मनोवैज्ञानिक युद्ध र आन्तरिक उत्पादनमा उपभोग्य वस्तुहरूको अभावलाई जनवादी तवरले सम्बोधन गर्न नसक्दा असन्तुष्टि बढ्यो।
 
सन् १९८९ मा बर्लिनको पर्खाल ढालिएपछि साम्राज्यवादी पश्चिम जर्मनीले यसलाई वस्तुतः निलेर पुँजीवादी पुनर्स्थापना गर्‍यो, जसले पूर्वी भागमा व्यापक बेरोजगारी र उद्योगहरूको विनाश निम्त्यायो।
 
३. पोल्यान्ड
 
दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा पोल्यान्डमा समाजवादी सत्ता स्थापना भयो। पोल्यान्डले द्रुत औद्योगीकरण र युद्धपछिको पुनर्निर्माणमा ठूलो सफलता हासिल गरे पनि त्यहाँ क्याथोलिक चर्च र परम्परागत भूस्वामित्वको प्रभाव पूर्ण रूपमा रूपान्तरण हुन सकेको थिएन।
 
सन् १९८० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईए र भ्याटिकनको प्रत्यक्ष आर्थिक तथा राजनीतिक सहयोगमा ‘सोलिडारिटी’ ट्रेड युनियनमार्फत प्रतिक्रान्ति सञ्चालन गरियो।
 
आर्थिक सङ्कट र विदेशी ऋणको दबाबमा परेर सन् १९८९ मा पार्टीले सम्झौता गर्‍यो र पोल्यान्ड पूर्वी युरोपमा समाजवाद त्याग्ने पहिलो देश बन्यो।
 
४. हङ्गेरी
 
सन् १९४९ मा जनगणतन्त्र बनेको हङ्गेरीमा सन् १९५६ मै पश्चिमी गुप्तचर संस्थाहरूको आडमा प्रतिक्रान्तिकारी विद्रोह भएको थियो, जसलाई सोभियत सहयोगमा नियन्त्रण गरियो। त्यसपछि जानोस कादारको नेतृत्वमा ‘गुलास समाजवाद’ को नाममा व्यापक बजार सुधार, निजी नाफा र पश्चिमा ऋणहरू भित्र्याइयो।
 
यस बजारमुखी नीतिले समाजवादी योजना प्रणालीलाई भित्रैबाट कमजोर बनायो। परिणामस्वरूप सन् १९८९ सम्म पुग्दा पार्टीभित्रैका सुधारवादी पुँजीवादी धारले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दै पुँजीवादलाई पुनस्र्थापित गर्‍यो।
 
 
५. चेकोस्लोभाकिया
 
सन् १९४८ मा कम्युनिस्ट पार्टीले सत्ता सम्हालेपछि चेकोस्लोभाकिया प्राविधिक र औद्योगिक रूपमा पूर्वी युरोपको सबैभन्दा उन्नत समाजवादी मुलुक बन्यो। सन् १९६८ मा अलेक्ज्याण्डर दुब्चेकको नेतृत्वमा ‘मानवीय अनुहारसहितको समाजवाद’ को नाममा बुर्जुवा उदारीकरण (प्राग स्प्रिङ) सुरू भयो, जसलाई वार्सा प्याक्टका सेनाले हस्तक्षेप गर्‍यो।
 
तर वैचारिक शुद्धीकरण र जनसहभागिताको अभावका कारण सन् १९८९ को तथाकथित ‘भेल्भेट रिभोल्युसन’ मार्फत पुँजीवाद पुनर्स्थापना भयो र पछि साम्राज्यवादी दबाबमै देश चेक गणतन्त्र र स्लोभाकियामा विभाजित हुन पुग्यो।
 
६. रोमानिया
 
निकोलाई चाउचेस्कुको नेतृत्वमा रहेको रोमानियाले सुरूमा तीव्र औद्योगीकरण गरे पनि पछि सोभियत सङ्घबाट अलग देखिने नाममा संकीर्ण राष्ट्रवाद र पश्चिमा वित्तीय संस्थाहरू (आईएमएफ र विश्व बैंक) बाट चर्को ब्याजमा ऋण लिने नीति लियो। विदेशी ऋण तिर्न चाउचेस्कुले जनताको आधारभूत उपभोगमा चरम कटौती गरेपछि व्यापक जनआक्रोश फैलियो।
 
सन् १९८९ डिसेम्बरमा पश्चिमी गुप्तचरहरूको सहयोग र सेनाको एक गुटको षड्यन्त्रमार्फत रक्तपातपूर्ण विद्रोह गराई चाउचेस्कु दम्पतीलाई तत्काल गोली हानी हत्या गरियो र समाजवादी राज्य संरचना ध्वस्त पारियो।
 
७. बुल्गेरिया
 
 
बुल्गेरिया दोस्रो विश्वयुद्धपछि जारशाही अन्त्य गरी सन् १९४६ मा जर्ज दिमित्रोभको नेतृत्वमा समाजवादी गणतन्त्र बनेको थियो। यसले कृषिप्रधान देशलाई आधुनिक कृषि–औद्योगिक अर्थतन्त्रमा बदलेको थियो र यो सोभियत सङ्घको सबैभन्दा भरपर्दो साझेदार थियो।
 
 
 तर सोभियत सङ्घमा गोर्बाचोभको आत्मसमर्पणवादी नीति हाबी भएपछि सन् १९८९ मा बुल्गेरियाली कम्युनिस्ट पार्टीको नेतृत्वले दबाब झेल्न सकेन र बहुदलीय पुँजीवादी प्रणालीसामु आत्मसमर्पण गर्‍यो।
 
८. अल्बानिया
 
एन्भर होक्जाको नेतृत्वमा अल्बानियाले फासीवादी इटालियन र जर्मन सेनालाई कुनै विदेशी सेनाको प्रत्यक्ष उपस्थितिबिना पराजित गरी सन् १९४६ मा समाजवाद स्थापना गर्‍यो।
 
अल्बानियाले पहिले युगोस्लाभ, पछि सोभियत र अन्ततः चिनियाँ संशोधनवादको समेत विरोध गर्दै कट्टर मार्क्सवादी–लेनिनवादी धार समात्यो। तर चरम बाह्य अलगाव, आर्थिक जडता र होक्जाको निधनपछि आन्तरिक सङ्कट गहिरियो र अन्ततः सन् १९९१–९२ मा त्यहाँ पनि पुँजीवादी बहुदलीय व्यवस्था पुनर्स्थापना भयो।
 
९. युगोस्लाभिया
 
मार्शल जोसिप ब्रोज टिटोको नेतृत्वमा नाजीहरूलाई आफैँ लडेर परास्त गरेको युगोस्लाभियाले सोभियत ढाँचाभन्दा फरक ‘श्रमिक स्व–व्यवस्थापन’ को मौलिक बाटो रोज्यो। टिटोले असंलग्न आन्दोलनको नेतृत्व गरे पनि अर्थतन्त्रमा पश्चिमा वित्तीय संस्थाहरूको ऋण र बजार विकृति भित्रियो, जसले विभिन्न गणतन्त्रहरू बीच आर्थिक असमानता जन्मायो।
 
टिटोको मृत्युपछि साम्राज्यवादी शक्तिहरू (विशेष गरी जर्मनी र अमेरिका) ले जातीय र धार्मिक द्वेष भड्काए। सन् १९९० को दशकमा भयानक गृहयुद्ध र नाटोको बर्बर बमबारीमार्फत युगोस्लाभियालाई सर्बिया, क्रोएसिया, बोस्निया, स्लोभेनिया जस्ता टुक्रामा विभाजित गरी समाजवाद नामेट पारियो।
 
१०. मङ्गोलिया
 
सन् १९२४ मा दामदिन सुख्बातारको नेतृत्वमा सामन्ती धार्मिक सत्तालाई परास्त गरी सोभियत सङ्घपछिको विश्वको दोस्रो समाजवादी राज्य बनेको मङ्गोलिया जनगणतन्त्रले फिरन्ते पशुपालक समाजबाट आधुनिक शिक्षा, स्वास्थ्य र उद्योगको विकास गर्‍यो।
 
मङ्गोलियाको अर्थतन्त्र र राजनीति सोभियत सङ्घसँग गहिरो रूपमा जोडिएको थियो। त्यसैले सन् १९९० मा सोभियत सङ्घमा आएको राजनीतिक भूकम्पको प्रत्यक्ष प्रभाव मङ्गोलियामा पर्‍यो र शान्तिपूर्ण प्रदर्शनहरूको दबाबमा परेर पार्टीले समाजवाद त्यागी पुँजीवादी बजार व्यवस्था अपनायो।
 
११. अफगानिस्तान
 
सन् १९७८ को ‘सौर क्रान्ति’ मार्फत पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तानले सत्ता लिएर प्रजातान्त्रिक गणतन्त्र स्थापना गर्‍यो। नूर मोहम्मद ताराकी र पछि नजिबुल्लाहको नेतृत्वमा सामन्ती भूस्वामित्व अन्त्य, महिला अधिकार, निःशुल्क शिक्षा र साक्षरताको ऐतिहासिक अभियान सुरु गरियो।
 
तर अमेरिकी साम्राज्यवादले साउदी अरब र पाकिस्तानसँग मिलेर सामन्ती र धार्मिक अतिवादी ‘मुजाहिद्दीन’ हरूलाई अर्बौं डलरका हतियार दियो। सोभियत सेनाको फिर्तीपछि पनि नजिबुल्लाह सरकारले केही वर्ष वीरतापूर्वक प्रतिरोध गर्‍यो, तर सन् १९९२ मा सरकार ढालियो र अफगानिस्तानलाई भयानक गृहयुद्ध तथा धार्मिक अन्धकारमा धकेलियो।
 
१२. दक्षिण येमेन
 
अरब प्रायद्वीपको एकमात्र मार्क्सवादी–लेनिनवादी राज्यका रूपमा सन् १९६७ मा बेलायती उपनिवेशवाद र सामन्ती सुल्तानहरूलाई परास्त गरी दक्षिण येमेनको जन्म भयो।
 
 यसले कट्टरपन्थी अरब संसारको बीचमा रहेर महिला मुक्ति, धर्मनिरपेक्षता, निःशुल्क शिक्षा र स्वास्थ्य तथा भूमिसुधारको ऐतिहासिक काम गर्‍यो। तर सोभियत सङ्घको पतनसँगै आर्थिक सहारा गुम्नु र आन्तरिक गुटबन्दीका कारण सन् १९९० मा यसले पुँजीवादी उत्तर येमेनसँग एकीकरण गर्‍यो, जसको परिणामस्वरूप त्यसपछि भएका गृहयुद्धहरूमा समाजवादी उपलब्धिहरू पूर्ण रूपमा मेटाइए।
 
१३. इथियोपिया
 
सन् १९७४ मा सम्राट हेल सेलासीको शताब्दीयौँ पुरानो सामन्ती शासन अन्त्य गरी मेंगिस्तु हेइले मारियामको नेतृत्वमा ‘डर्ग’ सैन्य परिषद्ले मार्क्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा गर्‍यो।
 
यसले जमिनको राष्ट्रियकरण र साक्षरतामा ठूलो प्रगति गरे पनि लामो समय चलेको खडेरी, सोमालियासँगको युद्ध र एरिट्रियाली पृथकतावादी द्वन्द्वका कारण देश आर्थिक रूपमा जर्जर बन्यो। सन् १९९१ मा सोभियत सहयोग रोकिएपछि पश्चिमा समर्थित विद्रोही गठबन्धनले मेंगिस्तु सरकारलाई अपदस्थ गर्‍यो।
 
१४. अङ्गोला
 
पोर्चुगाली उपनिवेशवादविरूद्ध लामो सशस्त्र सङ्घर्ष गरेर अगस्टिनो नेटोको नेतृत्वमा MPL ले सन् १९७५ मा अङ्गोलालाई स्वतन्त्र बनाई मार्क्सवादी–लेनिनवादी राज्य घोषणा गर्‍यो। तर अमेरिकी साम्राज्यवाद र दक्षिण अफ्रिकाको रङ्गभेदी सत्ताले जोनास साविम्बीको ՙयुनिटा’ विद्रोही समूहलाई प्रयोग गरी भयानक गृहयुद्ध थोपर्‍यो।
 
क्युबाली सेनाको ऐतिहासिक सहयोगमा अङ्गोलाले रङ्गभेदी सेनालाई पराजित गरे पनि दशकौँ लामो युद्धले अर्थतन्त्र ध्वस्त बनायो। अन्ततः सन् १९९२ मा MPL ले बहुदलीय चुनाव स्वीकार गर्दै समाजवाद परित्याग गर्‍यो।
 
१५. मोजाम्बिक
 
सन् १९७५ मा समोरा मासेलको नेतृत्वमा FRELIMO ले पोर्चुगालबाट स्वतन्त्रता प्राप्त गरी वैज्ञानिक समाजवादको बाटो लियो। मोजाम्बिकले शिक्षा, स्वास्थ्य र कृषिको सामाजिकीकरणमा तीव्रता दियो र जिम्बाब्वे तथा दक्षिण अफ्रिकाका मुक्ति आन्दोलनहरूलाई आश्रय दियो।
 
यसको बदला लिन रोडिसिया र दक्षिण अफ्रिकाको गोरा शासकहरूले रिनामो नामक आतङ्कवादी समूह खडा गरी देशमा बर्बर गृहयुद्ध चलाए। सन् १९८६ मा समोरा मासेलको रहस्यमय विमान दुर्घटनामा मृत्यु भएपछि आर्थिक सङ्कटका कारण सन् १९९० मा मोजाम्बिकले मार्क्सवाद–लेनिनवाद परित्याग गर्‍यो।
 
१६. कम्बोडिया
 
सन् १९७५ मा पोल पोलको नेतृत्वमा रहेको खमेर रुजले अमेरिकी समर्थित लोन नोल सत्तालाई परास्त गरी सत्ता कब्जा गर्‍यो। तर पोल पोल गुटले मार्क्सवादको घोर विकृत, गैर–भौतिकवादी र अतिवादी रूप (‘कृषि काल्पनिक समाजवाद’) लागू गर्‍यो, जसले सहरहरू खाली गराउने र लाखौँ नागरिकको संहार गर्ने त्रासदी निम्त्यायो।
 
सन् १९७९ मा भियतनामी सेनाको सहयोगमा बनेको जनगणतन्त्र कम्बोडियाले देशलाई नरसंहारबाट मुक्त गरी समाजवादी पुनर्संरचनाको प्रयास गर्‍यो, तर पश्चिमी शक्तिहरूले खमेर रुजलाई नै समर्थन गरेर गृहयुद्ध लम्ब्याए। सन् १९८९ मा भियतनामी सेना फर्केपछि शान्ति सम्झौतामार्फत राजतन्त्र र पुँजीवाद पुनर्स्थापना भयो।
 
(ग) अपदस्थ समाजवादी प्रयासहरू
 
विश्व इतिहासमा त्यस्ता क्रान्तिकारी उभारहरू पनि रहे, जसले लामो समय राज्य सञ्चालन गर्न नपाए पनि सर्वहारा वर्गको मुक्ति आन्दोलनलाई अमूल्य सैद्धान्तिक तथा व्यावहारिक पाठहरू प्रदान गरे। यी प्रयासहरू साम्राज्यवादी क्रूरता र सैनिक कूपमार्फत रक्तपातपूर्ण ढङ्गले दबाइए।
 
१. पेरिस कम्युन (फ्रान्स, १८७१)
 
पेरिस कम्युन मजदुर वर्गले आफ्नै राज्यसत्ता स्थापना गरेको मानव इतिहासकै पहिलो गौरवशाली अनुभव थियो। फ्रान्स–प्रसिया युद्धको सङ्कटका बीच पेरिसका मजदुरहरूले सत्ता हातमा लिएर ७२ दिनसम्म संसारकै पहिलो सर्वहारा राज्य सञ्चालन गरे।
 
 कम्युनले स्थायी सेनाको खारेजी, जनताद्वारा निर्वाचित प्रतिनिधिहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन पाउने अधिकार, मजदुरको औसत ज्याला बराबर अधिकारीहरूको तलब र धर्म निरपेक्षता जस्ता नियमहरू लागू गर्‍यो।
 
कार्ल मार्क्सले ‘फ्रान्समा गृहयुद्ध’मा विश्लेषण गरेझैँ, कम्युनले पुरानो बुर्जुवा राज्य संयन्त्रलाई जस्ताको तस्तै कब्जा गरेर आफ्नो हितमा चलाउन सकिँदैन, बरु त्यसलाई चकनाचुर पार्नुपर्छ भन्ने पाठ सिकायो।
 
 
कम्युनले फ्रान्सको केन्द्रीय बैङ्क कब्जा नगर्नु र भर्साइल्समा रहेका प्रतिक्रान्तिकारीहरूमाथि तुरुन्तै निर्णायक सैन्य हमला नगर्नु रणनीतिक कमजोरी बन्यो, जसको फाइदा उठाएर बुर्जुवा सेनाले ३० हजारभन्दा बढी कम्युनार्डहरूको कत्लेआम गरी कम्युनलाई रगतमा डुबायो।
 
२. हङ्गेरियन सोभियत गणतन्त्र (१९१९)
 
प्रथम विश्वयुद्धको अन्त्य र अक्टोबर क्रान्तिको लहरका बीच सन् १९१९ मार्चमा बेला कुनको नेतृत्वमा हङ्गेरीमा सोभियत गणतन्त्र घोषणा गरियो। यो सोभियत सङ्घबाहिर युरोपमा स्थापित पहिलो कम्युनिस्ट सत्ता थियो। यसले उद्योग, बैङ्क र ठूला जमिनहरूको राष्ट्रियकरण ग¥यो र आठ घण्टे कार्यदिन लागू गर्‍यो।
 
तर सामाजिक–प्रजातान्त्रिकहरूसँग गरिएको अराजनीतिक सम्झौता, किसानहरूलाई जमिन वितरण नगरी सीधै राज्य नियन्त्रणमा लैजाने सैद्धान्तिक त्रुटि र रोमानियाली साम्राज्यवादी सेनाको प्रत्यक्ष आक्रमणका कारण यो क्रान्तिकारी सत्ता १३३ दिनमै ढल्यो र हङ्गेरीमा श्वेत आतङ्क सुरु भयो।
 
३. चिली (१९७०–१९७३)
 
 
ल्याटिन अमेरिकामा निर्वाचनको माध्यमबाट शान्तिपूर्ण रूपमा समाजवाद निर्माण गर्ने ऐतिहासिक प्रयोग साल्भाडोर एलेन्डेको नेतृत्वमा भएको थियो। ‘पपुलर युनिटी’ गठबन्धनमार्फत राष्ट्रपति बनेका एलेन्डेले तामा खानीहरूको राष्ट्रियकरण, भूमिसुधार, र मजदुरहरूको तलब वृद्धि गरे।
 
 
तर यो समाजवादी प्रयोगलाई अमेरिकी एकाधिकार पुँजी र बहुराष्ट्रिय कम्पनीहरूले स्वीकार गरेनन्। अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र हेनरी किसिन्जरको प्रत्यक्ष निर्देशनमा सीआईएले चिलीको अर्थतन्त्र अस्तव्यस्त बनायो र सेप्टेम्बर ११, १९७३ मा जनरल अगस्टो पिनोसेको नेतृत्वमा फासीवादी सैनिक कूप गरायो।
 
 
एलेन्डे राष्ट्रपतीय भवनको रक्षा गर्दै सहिद भए। त्यसपछि हजारौँ कम्युनिस्टहरूको हत्या गरियो र चिलीलाई नवउदारवादी पुँजीवादको क्रूर प्रयोगशाला बनाइयो, जसले बुर्जुवा राज्यको सेना र न्यायालयलाई नभत्काई समाजवाद सुरक्षित हुन सक्दैन भन्ने लेनिनवादी निष्कर्षलाई पुनः पुष्टि गर्‍यो।
 
४. निकारागुआ (१९७९–१९९०)
 
 
सन् १९७९ मा अगस्टो सेसार सान्दिनोको विचारबाट प्रेरित ‘सान्दिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा’ले अमेरिका समर्थित सोमोजाको क्रूर पारिवारिक तानाशाहीलाई सशस्त्र क्रान्तिमार्फत उखेलेर फाल्यो। सान्दिनिस्टाहरूले साक्षरता अभियान, निःशुल्क स्वास्थ्य र जमिनको पुनर्वितरणमा अभूतपूर्व काम गरे।
 
तर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले निकारागुआको समाजवादी सत्तालाई ध्वस्त पार्न ‘कन्ट्रा’ नामक भाडाका आतङ्कवादीहरूलाई आर्थिक र सैन्य सहयोग दिएर रक्तपातपूर्ण युद्ध थोपरे। एक दशक लामो नाकाबन्दी, युद्ध र आर्थिक क्षतविक्षतका बीच सन् १९९० को आम निर्वाचनमा जनता युद्धको अन्त्य चाहँदै दक्षिणपन्थी गठबन्धनतर्फ आकर्षित भए र सान्दिनिस्टाहरू पराजित भए। यद्यपि पछि उनीहरू शान्तिपूर्ण राजनीतिबाट पुनः सत्तामा फर्किए।
 
 
५. ग्रेनाडा (१९७९–१९८३)
 
क्यारेबियन टापु ग्रेनाडामा सन् १९७९ मा मौरिस बिशपको नेतृत्वमा ‘न्यू ज्वेल मुभमेन्ट’ ले रक्तपातहीन क्रान्तिमार्फत समाजवादी जनक्रान्तिकारी सरकार स्थापना ग¥यो। बिशप सरकारले क्युबाको सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थल, निःशुल्क स्वास्थ्य, शिक्षा र महिला अधिकारका क्षेत्रमा ठूलो फड्को मार्‍यो।
 
 
तर पार्टीभित्र बिशप र उपप्रधानमन्त्री बर्नार्ड कोर्ड गुटबीच चरम वैचारिक तथा व्यक्तिगत विवाद चर्कियो, जसको परिणामस्वरूप सन् १९८३ अक्टोबरमा बिशपको हत्या भयो। यो आन्तरिक विभाजनको फाइदा उठाउँदै अमेरिकी सेनाले ‘अपरेसन अर्जेन्ट फ्युरी’ मार्फत ग्रेनाडामाथि प्रत्यक्ष सैन्य आक्रमण गर्‍यो र समाजवादी प्रयोगलाई पूर्ण रूपमा समाप्त पारिदियो।
 
६. बुर्किना फासो (१९८३–१९८७)
 
 
‘अफ्रिकाका चे ग्वेभारा’ मानिने थोमस साङ्काराको नेतृत्वमा सन् १९८३ मा पश्चिम अफ्रिकी मुलुक अपर भोल्टामा क्रान्ति भयो, जसको नाम बदलेर ‘इमान्दार मानिसहरूको देश’ (बुर्किना फासो) राखियो। साङ्काराले साम्राज्यवादी ऋण र सहायता बहिष्कार गर्दै चार वर्षभित्रै खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाए, २५ लाख बालबालिकालाई एकै हप्तामा खोप लगाए, महिला हिंसा र बहुविवाह विरुद्ध कडा कानुन बनाए, तथा सहारा मरुभूमिको विस्तार रोक्न १ करोड रुख रोपे। उनले मन्त्रीहरूका विलासी गाडी खोसेर सबैभन्दा सस्तो गाडी चढ्न बाध्य पारे।
 
 
तर साङ्काराको यो क्रान्तिकारी उभार फ्रान्सेली नव–उपनिवेशवाद र स्थानीय दलाल पुँजीपतिहरूका लागि सह्य भएन। सन् १९८७ मा फ्रान्सको समर्थनमा उनकै निकट सहयोगी ब्लेज कम्पाओरेले साङ्काराको निर्मम हत्या गरी सैनिक कूपमार्फत प्रतिक्रान्ति सम्पन्न गर्‍यो।
 
 
७. कङ्गो जनगणतन्त्र (१९६९–१९९२)
 
 
अफ्रिकाको कङ्गोमा मारिएन न्गुआबीको नेतृत्वमा सन् १९६९ मा मार्क्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा गरियो। कङ्गोली लेबर पार्टीको नेतृत्वमा उत्पादनका साधनको राष्ट्रियकरण र सोभियत संघ तथा चीनसँग घनिष्ठ सम्बन्ध कायम गरियो।
 
 
सन् १९७७ मा न्गुआबीको हत्यापछि पनि व्यवस्था जोगिए तापनि कच्चा तेलको मूल्यमा आएको गिरावट, फ्रान्सेली एकाधिकार पुँजीको निरन्तर आर्थिक दबाब र सोभियत विघटनको प्रभावले गर्दा सन् १९९२ मा देशले मार्क्सवाद परित्याग गरी बहुदलीय पुँजीवादी प्रणाली अङ्गीकार गर्‍यो।
 
 
८. बेनिन जनगणतन्त्र (१९७५–१९९०)
 
 
सन् १९७२ मा सत्तामा आएका म्याथ्यु केरेकुले सन् १९७५ मा बेनिनलाई मार्क्सवादी–लेनिनवादी जनगणतन्त्र घोषणा गरे। बैङ्किङ र तेल उद्योगहरूको राष्ट्रियकरण गरियो भने विद्यालयहरूमा मार्क्सवादी शिक्षा अनिवार्य गरियो।
 
 
तर पश्चिमी अफ्रिकामा फ्रान्सेली मुद्रा नियन्त्रण, कमजोर औद्योगिक आधार र सन् १९८० को दशकको उत्तरार्धमा आएको गम्भीर बैङ्किङ सङ्कटले गर्दा सरकार टाट पल्टियो। अन्ततः कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थिति आएपछि फ्रान्स र विश्व बैंकको दबाबमा सन् १९९० मा केरेकुले समाजवाद त्यागेर पुँजीवादी व्यवस्था पुनर्स्थापित गरे।
 
 
विश्वमा समाजवादको उदय, पतन र निरन्तरताको यो समग्र द्वन्द्वात्मक इतिहासले अन्तर्राष्ट्रिय सर्वहारा वर्गलाई केही आधारभूत सैद्धान्तिक शिक्षाहरू प्रदान गरेको छ।
 
 
पहिलो, समाजवाद केवल वितरणको समानतामा टिक्न सक्दैन; जबसम्म उत्पादक शक्तिहरूको द्रुत विकास गरेर जनताको भौतिक तथा सांस्कृतिक जीवनस्तर उकासिँदैन, तबसम्म पुँजीवादी उपभोक्तावादको खतरा रहिरहन्छ। चीन र भियतनामले यही ऐतिहासिक नियम आत्मसात् गरी बजार संयन्त्रलाई राज्यको कडा नियन्त्रणमा परिचालन गरेर समाजवादलाई बचाइराखे।
 
 
दोस्रो, समाजवादी राज्यको पतन बाह्य सेनाभन्दा बढी पार्टीभित्र हुर्किने नोकरशाहीकरण र संशोधनवादबाट हुन्छ। लेनिनवादी जनवादी केन्द्रीयता कमजोर हुँदा पार्टी जनताबाट काटिन्छ र बुर्जुवा वर्ग पार्टीभित्रै जन्मन्छ।
 
 
तेस्रो, प्रतिक्रियावादी शासक वर्गले स्वेच्छाले सत्ता कहिल्यै छोड्दैन; चिली र पेरिस कम्युनको अनुभवले बुर्जुवा राज्य संयन्त्रलाई नभत्काई र सर्वहारा वर्गको दृढ प्रतिरक्षा प्रणाली निर्माण नगरी समाजवाद सुरक्षित हुन सक्दैन भन्ने पाठ सिकाएको छ।
 
 
आज पुँजीवाद पुनः भयानक संरचनात्मक सङ्कट, वातावरणीय विनाश, चरम असमानता र साम्राज्यवादी युद्धहरूको चक्रव्यूहमा फसेको बेला बीसौँ शताब्दीका यी ऐतिहासिक अनुभवहरू एक्काइसौँ शताब्दीको वैज्ञानिक समाजवाद निर्माणका लागि अपरिहार्य मार्गदर्शक हुन्।
 
-लोकपाटी.कमबाट संभार

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.