वीरगन्ज, ४ असार । पर्सामा आज ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
१४ दिन पूरा भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा पर्साको सिर्सिया बस्ने १५ वर्षीया किशोरी र रौतहटको राजदेवी नगरपालिका–१ पथराकी ३६ वर्षीया महिला छन् ।
यस्तै पर्साको कालिकामाई गाउँपालिका–२ का १६, ३०, ४०, र ४५ वर्षीय चार जना पुरुष र पर्साकै ३३ र २५ वर्षीय दुई जना पुरुष डिस्चार्ज भएका छन् । रौतहटकी महिलामा जेठ २२ गते र अरुमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ । डिस्चार्ज भएका उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको डा. सिंहले जानकारी दिए ।
गण्डक कोभिड अस्पताललमा हालसम्म १०३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
तपाईको प्रतिक्रिया