वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम सृजनशील शिक्षा विकास केन्द्र, पर्साको आयोजनामा सम्पन्न भएको हो।
स्थानीय युवादेखि विभिन्न पेशामा संलग्न व्यक्तिहरूको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा सुलमान मिया दर्जी, प्रविन्द्र प्रसाद महतो, प्रमोद प्रसाद यादव, विनोद कुमार यादव, धिरज चौधरी, राजाबाबु चौधरी, दिलसाद आलम, रमेश साह, ज्वाला गिरी, मुना तिवारी, राधेश्याम मुखिया, रेयाज खानलगायतले रक्तदान गरेका थिए।
कार्यक्रममा सृजनशील शिक्षा विकास केन्द्रका अध्यक्ष चिरञ्जीवी यादवले रक्तको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानलाई सामाजिक दायित्वका रूपमा लिन सबैलाई आग्रह गरे।
रक्तदान कार्यक्रममा वडाध्यक्षद्वय माधव प्रसाद राउत थारु स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव, योजना शाखा प्रमुख राजकुमार महतो तथा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष साह, विवेक यादव, शनि यादव र सन्तोष पटेलको उपस्थिति रहेको थियो।
आयोजक संस्थाका अनुसार कार्यक्रमले स्थानीय समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा उपचाररत बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया