वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको आज भव्य रूपमा उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता तथा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साकी सदस्य शुसिला बिक, गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी, सबै वडाका वडाध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरू, ठोरीका छ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ठोरी गाउँपालिकाले प्रदान गरेको स्वागत र सम्मानप्रति मुक्तकण्ठले प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
मन्त्री चौधरीलाई ठोरी गाउँपालिका परिसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले मन्त्री चौधरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ठोरी गाउँपालिकालाई विकासका दृष्टिले विशेष प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरे । उनले खेलकुदमार्फत अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको पहिलो दिन आज सटपुट, दौड तथा भलिबललगायतका खेलहरू सञ्चालन भएका छन्। आयोजकका अनुसार बाँकी खेलहरू भोलि र पर्सि सम्पन्न हुनेछन्।
तपाईको प्रतिक्रिया